‘चीनले कुनैपनि अमेरिकी अधिकारीहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न सक्दैन’

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ३ : ३९


काठमाडौं। अमेरिकी सभामुख न्यान्सी पलोसीले चीनको कडा चेतावनी बाबजुद पनि ताइवान भ्रमण गरेपछि चिनियाँ जनमुक्ति सेनाले बुधबारयता शक्ति प्रदर्शनका लागि चार दिने सैन्य अभ्यास सुरु गरेका छन्।

चीनले ताइवानलाई ६ स्थानबाट घेरेर व्यापक सैन्य अभ्यास सुरु गरेको हो। चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू हान्न थालेको छ।

ताइवानका अनुसार उसको भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र हानिसकेको छ। जसमध्ये चार क्षेप्यास्त्र राजधानी ताइपेईको आकाशबाट उडेको थियो। पहिलोपटक चिनियाँ क्षेप्यास्त्र ताइवानको भूमिमा प्रवेश गरेको सीएनएनले जनाएको छ।

चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा अमेरिकी सभामुख पेलोसीको भ्रमण भएपछि उसले आफ्नो सार्वभौमसत्तामाथिको चुनौती ठानेको छ।

यस क्रममा अमेरिकी सभामुख पेलोसी जापान पुगेकी छिन्। उनकै भ्रमणले ताइवान र चीनबीच तनाव बढ्दै जाँदा यतिबेला पेलोसीले चीनले ताइवानलाई एक्लो पार्ने प्रयास गरेको तर अमेरिकाले त्यसो हुन नदिने बताएकी छन्।

यस्तै उनले कुनैपनि अमेरिकी अधिकारीहरुलाई चीनले ताइवान भ्रमण गर्नबाट रोक्न नसक्ने पनि उनले बताएकी छिन्।

उनले भनेकी छन्,‘चीनले ताइवानलाई भ्रमण गर्न वा अन्य ठाउँहरूमा भाग लिनबाट रोक्न प्रयास गर्न सक्छन्, तर उनीहरूले हामीलाई त्यहाँ यात्रा गर्नबाट उनीहरुले रोक्न सक्दैनन्।’

सो क्रममा उनले चीनमा मुस्लिमहरुको नरसंहारको प्रयास भएको, मानवअधिकारको उल्लंघन भएको पनि आरोप लगाएकी छिन्। उनले ताइवनसँगको आफ्नो सम्बन्ध बलियो भएको पुनः बताउँदै भनेकी छिन्,‘ताइवानसँगको हाम्रो मित्रता बलियो छ। यो सदन र सिनेटमा द्विपक्षीय छ, हामी ताइवानमा शान्ति र यथास्थितिको लागि अत्यधिक समर्थन गर्दछौं।’

यस्तै ताइवानकी राष्ट्रपति साइ इंग वेनले पनि चिनियाँ युद्ध अभ्यासको बारेमा शुक्रबार ट्विट गर्दै भनेकी छिन्,‘हामीले चिनियाँ सेनाको गतिविधिलाई नजिकैबाट नियाली रहेका छौं। संघर्षलाई हामी बढावा दिन चाहँदैनौं तर निश्चित तवरमा हामी आफ्नो सार्वभौमिकता र राष्ट्रको सुरक्षा गर्नेछौं।’

उनले गतिरोध जारी रहे चिनियाँ जनमुक्ति सेनालाई आफ्ना सेनाले गतिलो जवाफ दिने पनि बताएकी छिन्।


प्रतिक्रिया दिनुहोस्