महानगरले फोहरको वर्गीकरण गर्नू भन्यो, जनताले मिसाउनु बुझेछन्

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ३ : ०३


काठमाण्डौँ । काठमाण्डौँ महानगर पालिकाले साउन १ गतेदेखि फोहरको श्रोतमै बर्गिकरण गर्न महानगरबासीलाई उर्दी जारी गर्यो । सूचना नै निकालेर कुहिने र नकुहिने फोहरको बर्गिकरण नगर्नेको फोहर नै नउठाउने भन्दै महानगरले चेतावनी पनि दिएको थियो । फोहर ब्यवस्थापनको विषय पेचिले बन्दै गएपछि महानगरले जथाभावि फोहर फाल्ने र बर्गिकरण नगर्नेमाथि कारबाही स्वरुप जरिवाना तिराउने जानकारी पनि गरायो ।

महानगरको सूचना अनुसार हरेक घरको अगाडी या फोहर बसिर्जन हुने ठाउँमा दुईवटा डष्टविनमा अनिवार्य रुपमा हुनुपर्ने थियो । तर महानगरले यस्तो उर्र्दी जारी गरेको शुक्रबार २० दिन पुग्दासम्म न महानगरले कडाइका साथ आफ्नो निर्णय कार्यान्वयन गर्न सकेको देखियो न त महानगरबासीले त्यसको पालना नै गर्न सके । फोहर ब्यवस्थापन भएर सुग्घर काठमाण्डौँ होला भन्नेमा अहिले काठमाण्डौँ दुर्गन्धले कुरुप बन्न थालेको छ । पछिल्लो समय महानगरले फोहर उठाउन नसक्दा जताततै फोहरको थुप्रा देखिन थालेको छ भने दुर्गन्ध पनि उत्तिकै मात्रामा बढ्न थालेको देखिन्छ ।

काठमाण्डौँको दरबारमार्ग नेपालकै लागि पर्यटकीय गन्तव्य हो । त्यो ठाउँ त स्वच्छ र सफा हुनुपर्ने हो तर त्यही ठाउँमा फोहर यसरी जम्मा भइरहेको छ कि त्यहाँ पुगेर हेर्दा सिंगो काठमाण्डौँ लजाउनु पर्ने स्थिति छ । दिनहूँ हजारौँ सवारी साधन, यात्रु र पर्यटक त्यो बाटो आवतजावत गर्छन् । तर दरबार मार्गको दक्षिण भागबाट पूर्व कमलादी जाने बाटोमा पुग्दा नाकमुख थुनेर हिँड्नस पर्ने अवस्था छ । त्यसआसपास कमलादी, प्रज्ञाप्रतिष्ठानको वरपर ठाउँठाउँमा दुईहप्ता भन्दा बढीसम्म फोहर थुप्रिरहेको छ ।

फोहरले पैदलयात्रीलाई हिँड्न नसक्ने बनाएको छ नै नजिकैका घर र पसल थापेर बसेका ब्यापारीले दिनभर नाकमुख थुन्नु पर्ने अवस्था छ । फोहर सडकको बीचभागसम्म जम्मा भएको छ भने मानिस हिँड्ने पेटीसमेत भरिएको छ । लगभग् यो महिनाभर त्यहाँको फोहर उठ्न सकेको छैन । फोहरलाई गाडीले किचेर हिँडद त्यसवरिपरी फोहर छरिएको छ ।

यो भन्दा घिन लाग्दो काम त्यहाँका नागरिकको देखिएको छ । उनीहरुले यसरी जथाभावी रुपमा फोहर फालेका छन् कि त्यहाँ गएर हेर्दा काठमाण्डौँ महानगरका सचेत नागरिकको बेइज्जत हुन्छ । यो दृश्य पनि त्यहीँकै हो ।
ब्यापार, भान्छा, होटल या घरबाट निस्किएका तरकारी, त्यसका बोक्रा, बोतल, सिसा प्लाष्टिक, कागज, केरा, स्याउ, कागती लगायत फलफुलका बोक्रा, भान्छामा बचेको भात, दाल, तरकारी एकै ठाउँ मिसाएर कुरुप हुने गरी मिसाइएको छ । यस्तो लाग्छ महानगरले घरमै फोहर बर्गिकरण गरेर राख्नू भनेर त भन्यो तर दरबारमार्गका जनताले सबै फोहर एकै ठाउँमा मिसाएर सडकमा फाल्नू भनेर बुझेछन् ।

यस्तो अवस्था दरबारमार्ग लाइनमा मात्र होइन ठाउँठाउँमा देखिन्छ । काठमाण्डौँमा धेरै जनसंख्या भएको, सिसडोल र बंचरे डाँडामा केही दिन फोहर जान नसकेको यथार्थ पनि थाहा छ तर यस कुराको बेवास्ता गर्दै आम नागरिकले महानगरलाई अटेर गरेका छन् ।

सार्वजनिक ठाउँमा जथाभावी फोहर फाल्नेक्रम बढेपछि महानगरले ती ठाउँको फोहर उठाउँदै त्यहाँ सचेतनामूलक ब्यानर पनि टाँसिदिएको छ । त्यहाँ फोहर जथाभावी फालेको खण्डमा तिर्नु पर्ने जरिवानाको कुरा पनि उल्लेख छ तर जनताले त्यहीँ नै फोहर फालेको देखिन्छ । जसका कारण महानगरलाई फोहर ब्यवस्थापनमा चुनौति बनिरहेको छ । यो प्रवृत्ति दरबार मार्गमा मात्र नभएर महानगरभित्र सबैमा देखिन्छ ।

आम जनताले यसरी असहयोग गरेमा फोहर ब्यवस्थापन हुन नसक्ने महानगर प्रशासन बताउँछ । फोहर ब्यवस्थापनको समाधान नै श्रोतमै बर्गिकरण भएकाले महानगरको आदेश सबैले पालना गर्नु पर्ने मेयर बालेन्द्र शाहले बताउँदै आइरहेका छन् । अहिले बंचरे डाँडाको बाटो मर्मत सम्भार गर्दा केही समय फोहर उठ्न समस्या भएको र चाँडै फोहर उठ्ने उनले बताए । यदि फोहर बर्गिकरण नभएको भए नउठाउने र त्यसबाट पर्ने असर सम्बन्धित ठाउँका जनताले भोग्नु पर्ने उनको चेतावनी छ ।

महानगरले यसो भने पनि सर्वसाधारणले भने बर्गिकरण भएको फोहर पनि नउठेको बताउँछन् । महानगरको सूचना सुनिसकेपछि बर्गिकरण गरी घरमा राखेको तर महानगरको गाडी नआएर कुहिएर दुर्गन्ध फैलन थालेपछि पुनः मिसाउन बाध्य भएको सर्वसाधारण बताउँछन् । फोहरको बर्गिकरण गरे पनि समयमा उठाउने गाडी नआएमा समस्या हुने पुतलीसडक भाडामा बस्दै आएका शिव शिव शर्मा बताउँछन् । उनले आम नागरिकले फोहर बर्गिकरण गरेर महानगरलाई सहयोग गर्नु पर्ने बताए ।

बर्गिकरण राम्रो तरिका भए पनि धेरै जनसंख्या र धेरै फोहर हुने भएकाले कार्यान्वयनमा समस्या भएको बताउँदै उनी भन्छन् संसराका अभ्यास हेरेर फोहरलाई महोरमा परिणत गर्ने गरी दीर्घकालिन समाधानमा महानगर जानै पर्दछ ।
महानगरले पनि अब यो समस्या सदाका लागि समाधान गर्न भन्दै मेसिन खरिद प्रकृयाको लागि बजेटमै ब्यवस्था गरेको जनाएको छ । यो समस्या महानगरको मात्र नभएकाले संघीय तथा प्रदेश सरकार, सहरी विकास मन्त्रालयले पनि पहल गर्नु पर्ने मेयर शाह बताउँछन् । भदौ १ गतेदेखि बंचरेडाँडा र सिडोलबासीले फोहर जम्मा गर्न नदिने धम्की दिएपछि कहाँ लगर फोहर ब्यवस्थापन गर्ने टाउको दुखाईको विषय बनेको छ ।


प्रतिक्रिया दिनुहोस्