चीनले ताइवान वरपर क्षेप्यास्त्र हान्दा जापान रुष्ट, ताइवान प्रवेश गर्यो चिनियाँ क्षेप्यास्त्र

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ११ : ३९


काठमाडौं। अमेरिकी सभामुख न्यान्सी पलोसीले चीनको कडा चेतावनी बाबजुद पनि ताइवान भ्रमण गरेपछि चिनियाँ जनमुक्ति सेनाले बुधबारयता शक्ति प्रदर्शनका लागि चार दिने सैन्य अभ्यास सुरु गरेका छन्।

चीनले ताइवानलाई ६ स्थानबाट घेरेर व्यापक सैन्य अभ्यास सुरु गरेको हो। चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू हान्न थालेको छ। यस क्रममा चीनले ताइवान वरपर क्षेप्यास्त्र हान्दा जापान रुष्ट बनेको छ।

बीबीसीका अनुसार चिनियाँ सेनाले हानेको पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेकोभन्दै जापानले आपत्ति जनाएको छ।

जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत चिनियाँ क्षेप्यास्त्र प्रहारको कडा रूपमा आलोचना गरेको बताएका छन्।

ताइवानका अनुसार उसको भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र हानिसकेको छ। जसमध्ये चार क्षेप्यास्त्र राजधानी ताइपेईको आकाशबाट उडेको थियो। पहिलोपटक चिनियाँ क्षेप्यास्त्र ताइवानको भूमिमा प्रवेश गरेको सीएनएनले जनाएको छ।

चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा अमेरिकी सभामुख पेलोसीको भ्रमण भएपछि उसले आफ्नो सार्वभौमसत्तामाथिको चुनौती ठानेको छ।

हाल ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्। चीनले आक्रामक गतिविधि बढाएसँगै ताइवानले आत्मरक्षाको लागि आफ्ना सेनालाई तयार हुन निर्देशन दिइसकेको छ।

पेलोसीको भ्रमणले ताइवान र चीनबीच तनाव बढ्दै जाँदा यतिबेला जापान पुगेकी पेलोसीले चीनले ताइवानलाई एक्लो पार्ने प्रयास गरेको तर अमेरिकाले त्यसो हुन नदिने बताएकी छन्।

यस्तै ताइवानकी राष्ट्रपति साइ इंग वेनले पनि चिनियाँ युद्ध अभ्यासको बारेमा शुक्रबार ट्विट गर्दै भनेकी छिन्,‘हामीले चिनियाँ सेनाको गतिविधिलाई नजिकैबाट नियाली रहेका छौं। संघर्षलाई हामी बढावा दिन चाहँदैनौं तर निश्चित तवरमा हामी आफ्नो सार्वभौमिकता र राष्ट्रको सुरक्षा गर्नेछौं।’

उनले गतिरोध जारी रहे चिनियाँ जनमुक्ति सेनालाई आफ्ना सेनाले गतिलो जवाफ दिने पनि बताएकी छिन्। ताइवान सन् १९४९ यता स्वशासित छ तर चीनले सो क्षेत्रको हरेक मुद्दालाई आफ्नो घरेलु मामिला ठान्छ।

बिहीबार मात्र संयुक्त राष्ट्रसंघले अमेरिकी सभामुखको कारण सो क्षेत्रमा तनाव बढेको आरोप लगाएको थियो। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७१ मा प्रस्ताव २७५८ पारित गरेकाले विश्वले एक चीन नीतिलाई स्वीकार्ने बताएका थिए। एजेन्सीको सहयोगमा

भिडिओ


प्रतिक्रिया दिनुहोस्