चीनले ताइवान नजिकै हान्यो क्षेप्यास्त्र, चारैतिर घेरेर युद्ध अभ्यास गर्न थाल्यो!

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ४ : ०६


काठमाडौं। चिनियाँ जनमुक्ति सेनाले ताइवानलाई चारै तिरबाट घेरेर सैन्य अभ्यास सुरु गरेको छ।

बेइजिङको चेतावनी बाबजुद अमेरिकी कँग्रेसकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चिनियाँ सेनाले हिजोदेखि नै चार दिनसम्मको लागि ताइवानलाई ६ स्थानबाट घेरेर युद्ध अभ्यास सुरुवात गरेको हो।

पूर्ण रुपमा घेरेर चीनले युद्ध अभ्यास गरेपछि ताइवानको सबै सीमा बन्दछन्। त्यहाँ नाकाबन्दीको अवस्था छ किनभने चिनियाँ सेनाका कारण जल तथा हवाई कुनै माध्यमबाट ताइवानले आयात तथा निर्यात गर्न सकेको छैन।

बीबीसीका अनुसार ताइवान नजिकैको क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाले दुईवटा ब्यालिस्टीक क्षेप्यास्त्र हानेका छन्। युद्ध अभ्यासमा चीनले युद्धपोत, युद्धक विमान, अत्याधुनिक हतियारहरु प्रदर्शन गर्नेछन्।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार चीनले युद्ध अभ्यासमा जे–२० स्टिल्थ फाइटर जेट प्रयोग गर्नेछ भने उसले डीएफ–१७ हाइपरसोनिक मिसाइलको पनि परीक्षण गर्नेछ। हाइपरसोनिक क्षेप्यास्त्र ध्वनीको गतिभन्दा पाँच गुणा तिव्र हुन्छन्, जुन ज्यादै खतरनाक हतियार हो।

यसरी युद्ध अभ्यासका क्रममा ताइवानले कुनैपनि प्रतिक्रिया जनाएको अवस्थामा चीनले ताइवानलाई आक्रमण गर्नसक्ने अवस्था छ।

चीनको निरन्तर चेतावनीका बावजुद अमेरिकी सभामुख पेलोसी मंगलबार साँझ ताइवान पुगेकी थिइन्। उनी बुधबार ताइवानबाट फर्किसकेकी छिन्। त्यस लगत्तै चीनले ताइवान घेरेर सैन्य प्रशिक्षण सुरु गरेको हो।

पेलोसीले ताइवानको संसदलाई सम्बोधन गर्दै भनेकी थिइन्,‘ताइवानको साथ अमेरिकाले कहिल्यै छाड्ने छैन।’ जवाफमा ताइवानकी राष्ट्रपति साइ इंग वेनले अब आफूहरु चीनबाट नडराउने उल्लेख गरेकी थिइन्।

चीनले यसअघि नै अमेरिकालाई पेलोसीले ताइवानको भ्रमण गरे आफूले त्यसको गतिलो जवाफ दिने बताएको थियो। चीनले ताइवानलाई कब्जा गर्न आफूले युद्ध नै गर्नसक्ने सन् २०१८ यता निरन्तर बताइरहेको छ।

चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ। बेइजिङले ताइवानको संचार प्रणाली साइबर आक्रमण गरेर ध्वस्त बनाउने सम्भावना भएकाले ताइवानले चीनबाट बच्न हरेक प्रयास गरिरहेको छ।

उता चेतावनी बाबजुद पनि अमेरिकाले ताइवानप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन नहुने उल्लेख गरेको छ। अमेरिका ताइवानलाई स्वशासित टापु भन्न रुचाउँछ।

तर वास्तवमा ताइवान चीनकै हिस्सा थियो। सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि भने चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ।

त्यसबेला चिनियाँ कम्युनिस्ट पार्टीले सत्ताधारी नेसनलिस्ट पार्टी ‘कुओमिन्ताङ’सँग युद्ध छेडेको थियो। सन् १९४९ मा माओत्सेतुङको नेतृत्वमा कम्युनिस्ट पार्टीले युद्ध जित्यो। सो गृहयुद्धपछि कुओमिन्ताङ पार्टीका मानिसहरु भागेर चीनकै टापु क्षेत्र ताइवान पुगेका थिए।

तर उनीहरु ताइवान पुगेपछि त्यहाँ आफ्नै प्रणाली स्थापित भयो। अहिले ताइवान चीनमा विलय हुन चाहँदैन। चीन भने ताइवानलाई आफूबाट अलग भएको प्रान्त मान्छ, चीनलाई यो लाग्छ कि जसरी पनि ताइवान चिनियाँ नियन्त्रणमा आइ पुग्छ।

यतिबेला आधुनिक चीन शान्तिपूर्ण ढंगबाट अथवा बल प्रयोग गरेरै ताइवान आफ्नो बनाउन चाहन्छ। ताइवानले चिनियाँ नीत त्यहाँ लागु नहुने बताउँदै यतिबेला अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको जसले चीनलाई चिढ्याएको छ।

चिनियाँ राष्ट्रपति सीका अनुसार यतिबेला ताइवानलाई चीनबाट अलग्याउन चाहने अलगाववादी शक्तिहरु हाबी भएका छन्। उनले चिनियाँ जनमुक्ति सेनालाई हरेक समय युद्धको लागि तयार हुन भनिसकेका छन्।

ताइवान चीनको कब्जामा गए पश्चिमी प्रशान्त महासागरमा आफ्नो दबदबा कायम गर्न चीन सक्षम हुनेछ। जुन अमेरिका चाहँदैन। त्यहीकारण यतिबेला अमेरिकाले ताइवानको समर्थन गरिरहेको हो। उसले ताइवानलाई चीनविरुद्ध प्रयोग गर्न शक्तिशाली हतियार दिइरहेको छ।

त्यस अलावा अमेरिका हिन्द–प्रशान्त क्षेत्रमा चीन हाबी नहोस् भन्ने चाहन्छ। आसियन राष्ट्रहरुको समर्थन गर्दै अमेरिकाले दक्षिण चीन सागरको पानीमा चीनको मात्र अधिकार भएको स्वीकार गर्दैन।

विश्लेषकहरुका अनुसार दुवै राष्ट्रबीच युद्ध भयो भने ताइवान हार्नेछ तर चिनियाँ आक्रमणलाई केही समय रोक्न भने उसले सक्छ।

ताइवानलाई अमेरिकी सहयोग त मिल्नसक्छ यद्यपी वासिङटनले स्पष्ट रुपमा यदी चीनले आक्रमण गरे अमेरिकाले के गर्छ भनेर प्रस्ट पारेको छैन। किनभने कूटनीतिक हिसाबले हेर्ने हो भने अमेरिकाले ‘एक चीन नीति’ मान्छ यसको अर्थ अमेरिकाको औपचारिक सम्बन्ध ताइवानसँग नभएर चीनसँग छ। बीबीसी र अन्तर्राष्ट्रिय एजेन्सीहरुको सहयोगमा


प्रतिक्रिया दिनुहोस्