काठमाडौं। चिनियाँ जनमुक्ति सेनाले ताइवानलाई चारै तिरबाट घेरेर सैन्य अभ्यास सुरु गर्ने भएको छ।
अमेरिकी कँग्रेसकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चिनियाँ सेनाले अब ताइवान घेरेर युद्ध अभ्यास गर्ने भएको हो। युद्ध अभ्यास यसै हप्ताको अन्तिमबाट सुरु हुनेछ।
युद्ध अभ्यासमा चीनले युद्धपोत, युद्धक विमान, अत्याधुनिक हतियारहरु प्रदर्शन गर्नेछ।
चीनको निरन्तर चेतावनीका बावजुद अमेरिकी सभामुख पेलोसी मंगलबार साँझ ताइवान पुगेकी थिइन्। उनी आज बुधबार ताइवानबाट फर्किसकेकी छिन्।
आज उनले ताइवानको संसदलाई सम्बोधन गर्दै अमेरिकाले ताइवानको साथ नछाड्ने बताएकी थिइन्। ताइवानकी राष्ट्रपति साइ इंग वेनले भने अब आफूहरु चीनबाट नडराउने उललेख गरेकी थिइन्।
गत सोमबार एसिया भ्रमणमा निस्किएकी पेलोसीको भ्रमण सूचीमा ताइवान थिएन। उनी मलेसिया, दक्षिण कोरिया, सिंगापुर र जापान जाने चर्चा थियो।
पेलोसीको भ्रमणलाई चीनले उत्तेजक कार्य भनेको छ। ताइवान भ्रमण गरेर अमेरिकी सभामुखले चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताएको छ।
चीनले ताइवानलाई आफ्नो प्रान्त भएको बताउँछ तर ताइवान आफूलाई स्वतन्त्र राष्ट्र हुँ भन्छ। चीनले आक्रमण गरेरै ताइवानलाई एकिकरण गर्ने बताइसकेको छ। बीबीसी