तोडफोडको घटनापछि हर्क साम्पाङः मेरो अफिसको सिसा होइन ढुंगा फुटाउन आउनुहोला

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १ : ३८


काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएपछि यो विषयमा मेयर साम्पाङ आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन्।

गत आइतबार सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेका केही व्यक्तिहरुले उनको कार्यकक्षमा तोडफोड गरेका थिए।

धरानको बराह सहकारीले बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको र त्यो असुल गर्नमा मेयरले भूमिका नखेलेको भन्दै आन्दोलित व्यक्तिहरुले साम्पाङको कार्यकक्षमा तोडफोड गरेका थिए।

यस विषयमा साम्पाङले लगत्तै फेसबुक स्टाटसमा भनेका थिए, ‘म पीडितको पक्षमा उभिँदा, छानबिन प्रकृया अघि बढाउन चाहँदा सबै प्रकृया विथोल्ने गरी मेरो कार्यालय तोडफोड गर्ने यिनीहरुलाई के भन्नु हुन्छ, अब यसरी पिडितले न्याय पाउँलान् त?’

त्यस्तै अर्को एक भिडिओ पोस्टमा उनले आफ्नो कार्यकक्षमा तोडफोड मच्चाउने व्यक्तिहरु राजनीतिक षड्यन्त्रबाट प्रेरित भएको र उनीहरुले आफूलाई बदनाम गर्ने कार्य गरेकाले कारवाहीको दायरमा उनीहरुलाई ल्याउने बताएका थिए। उनले पीडितको पक्षमा आफू उभिएको र उनीहरुको रकम फिर्ता ल्याउन काम गरिरहेको उल्लेख गर्दै अराजक भीडले त्यो मुद्दा ओझेलमा पर्ने समेत चेतावनी दिएका छन्।

यसबीचमा फेरि उनले आफ्नो कार्यकक्षमा तोडफोड गर्नेप्रति लक्षित गर्दै कार्यालयको सिसा फुटाउने नभएर ढुंगा फुटाउन आग्रह गरेका छन्।

पछिल्ला दिनहरुमा मेयर हर्क धराने जनतालाई पानी खुवाउने अभियानमा आफैं खट्न थालेका छन्। उनी सामाजिक कार्यमा आफैं कस्सिएका छन्। उनी खोलामा गएर विकासको कार्यमा हातेमाले गर्दछन्, गिट्टी कुट्छन् भने वृक्षरोपन गर्दछन्।

उनले भनेका छन्,‘मेरो अफिसको सिसा होइन ढुङ्गा फुटाउन आउनु है बगरमा। बिकास प्रेमी बनौँ बिनाश प्रेमी होइन।’


प्रतिक्रिया दिनुहोस्