काठमाडौं। चीनको चेतावनी बाबजुद यतिबेला अमेरिकी कँग्रेसकी सभामुख न्यान्सी पलोसी मंगलबार ताइवान पुगेकी छन्। चीनले आफ्नो भूमि मान्ने ताइवानमा अमेरिकी शीर्ष अधिकारी पुगेपछि बेइजिङ ज्यादै रुष्ट बनेको छ।
चीनले जवाफमा शक्तिशाली हतियारका साथ ताइवान घेरेर युद्ध अभ्यास गर्ने घोषणा गरेको छ। यस्तै गएको २४ घण्टामा चीनका २० भन्दा बढी युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा घुसेका छन्।
यता आज बुधबार मात्र अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीले चीनको चेतावनीको बाबजुद ताइवानका राष्ट्रपति साई इङ्ग–वेनसँग भेट गरेकी छन्। भेटमा पेलोसीले ताइवानको साथ अमेरिकाले कहिल्यै नछाड्ने बताइन् भने ताइवानकी राष्ट्रपति साईले ताइवान अब चीनसामु कहिल्य नझुक्ने स्पष्ट बताइन्।
साईले पेलोसीलाई धन्यवाद दिँदै चिनियाँ सम्भावित आक्रमणको प्रतिवाद गर्ने बताइन्। उनले भनेकी छन्, ‘ताइवान पछि हट्ने छैन। हामी दृढताका साथ हाम्रो राष्ट्रिय सार्वभौमसत्ता कायम गर्नेछौं।’
पेलोसी २५ वर्षमा पहिलोपटक ताइवान भ्रमण गर्ने शीर्ष अमेरिकी अधिकारी हुन्। उनी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन्। उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्।
पेलोसी र साई इंग वेन
पेलोसीको भ्रमणबारे चीनले भड्किलो प्रतिक्रिया दिन छाडेको छैन। पेलोसी ताइवानमा अवतरण गर्नासाथ चीनको विदेश मन्त्रालयले अमेरिकाले एक चीन नीतिको उल्लंघन गरेर गम्भीर भुल गरेको बताएको थियो। मन्त्रालयले अमेरिकाले आगोसँग खेलिरहेको भन्दै यसको परिणाम नराम्रो हुने जनाएको थियो।
मन्त्रालयले बेइजिङ स्थित अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणबारे विरोध पनि जनाएको छ।
चिनियाँ उप–विदेशमन्त्री से फेङले पेलोसी भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिए। उनले चीन चुप नबस्ने उल्लेख गरे।
चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ भने अमेरिकाले ताइवानप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन नहुने उल्लेख गरेको छ। अमेरिका ताइवानलाई स्वशासित टापु भन्न रुचाउँछ।
पेलोसीले सोमबारबाट एसिया भ्रमण सुरु गरेकी थिइन्। पेलोसिले सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण गर्ने भएता पनि ताइवानबारे केही उल्लेख थिएन।
ताइवान विवाद के हो?
वास्तवमा ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ।
त्यसबेला चिनियाँ कम्युनिस्ट पार्टीले सत्ताधारी नेसनलिस्ट पार्टी ‘कुओमिन्ताङ’सँग युद्ध छेडेको थियो। सन् १९४९ मा माओत्सेतुङको नेतृत्वमा कम्युनिस्ट पार्टीले युद्ध जित्यो। सो गृहयुद्धपछि कुओमिन्ताङ पार्टीका मानिसहरु भागेर चीनकै टापु क्षेत्र ताइवान पुगेका थिए।
तर उनीहरु ताइवान पुगेपछि त्यहाँ आफ्नै प्रणाली स्थापित भयो। अहिले ताइवान चीनमा विलय हुन चाहँदैन। चीन भने ताइवानलाई आफूबाट अलग भएको प्रान्त मान्छ, चीनलाई यो लाग्छ कि जसरी पनि ताइवान चिनियाँ नियन्त्रणमा आइ पुग्छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान चीनमै समाहित हुने बताइसकेका छन्। उनले आक्रमण गरेरै भएता पनि ताइवानलाई एकिकरण गर्ने बताउँछन्। तर ताइवान भने आफूलाई स्वतन्त्र राष्ट्र मान्छ। ताइवानको आफ्नै संविधान छ र त्यहाँ निर्वाचनबाट राष्ट्र प्रमुख छनौट हुन्छन्।
ताइवानले चिनियाँ नीत त्यहाँ लागु नहुने बताउँदै यतिबेला अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको जसले चीनलाई चिढ्याएको छ। चिनियाँ राष्ट्रपति सीका अनुसार यतिबेला ताइवानलाई चीनबाट अलग्याउन चाहने अलगाववादी शक्तिहरु हाबी भएका छन्। उनले चिनियाँ जनमुक्ति सेनालाई हरेक समय युद्धको लागि तयार हुन भनिसकेका छन्।
ताइवान चीनको कब्जामा गए पश्चिमी प्रशान्त महासागरमा आफ्नो दबदबा कायम गर्न चीन सक्षम हुनेछ। जुन अमेरिका चाहँदैन। त्यहीकारण यतिबेला अमेरिकाले ताइवानको समर्थन गरिरहेको हो। उसले ताइवानलाई चीनविरुद्ध प्रयोग गर्न शक्तिशाली हतियार दिइरहेको छ।
त्यस अलावा अमेरिका हिन्द–प्रशान्त क्षेत्रमा चीन हाबी नहोस् भन्ने चाहन्छ। आसियन राष्ट्रहरुको समर्थन गर्दै अमेरिकाले दक्षिण चीन सागरको पानीमा चीनको मात्र अधिकार भएको स्वीकार गर्दैन।
साई इंग वेन आफ्ना सेनासँग
ताइवानले चिनियाँ आक्रमणको सामना गर्न सक्ला?
यदी चीनले आक्रमण गर्न थाल्यो भने ताइवानले आफूलाई रक्षा गर्न सक्दैन। युद्ध भयो भने ताइवानको सैन्य तागत चीन सामु फिक्का सावित हुन्छ।
चीनले वार्षिक रुपमा आफ्नो रक्षा क्षमता बढाउँदै लगेको छ। सेनामा लगानी गर्ने चीन विश्वकै प्रमुख राष्ट्र हो। चीनसँग अत्याधुनिक हतियारहरु अनगिन्ती छन्। चीनसँग हाइपरसोनिक क्षेप्यास्त्र, आणविक हतियारहरु छन्। साइबर आक्रमण गर्नमा पनि चीन माहिर छ।
इन्टरनेसनल इन्स्टिट्युट अफ स्ट्राटेजिक स्टडिज आईआईएसएसका अनुसार चीनसँग २० लाखभन्दा बढी सक्रिय सेना छन्। ताइवानसँग भने १ लाख ६३ हजार सेना छन्।
यसको अर्थ ताइवानको भन्दा १२ गुणा बढी सेना चीनसँग छ। चीनसँग ९ लाख ६५ हजार थल सेना छन् भने ताइवानसँग मात्र ८८ हजार थल सेना छन्। जल, थल, नौसेना सबैको संख्यामा चीन नै अब्बल छ।
विश्लेषकहरुका अनुसार दुवै राष्ट्रबीच युद्ध भयो भने ताइवान हार्नेछ तर चिनियाँ आक्रमणलाई केही समय रोक्न भने उसले सक्छ।
ताइवानलाई अमेरिकी सहयोग मिल्नसक्छ। यद्यपी अमेरिकाले स्पष्ट रुपमा यदी चीनले आक्रमण गरे अमेरिकाले के गर्छ भनेर प्रस्ट पारेको छैन। किनभने कूटनीतिक हिसाबले हेर्ने हो भने अमेरिकाले ‘एक चीन नीति’ मान्छ यसको अर्थ अमेरिकाको औपचारिक सम्बन्ध ताइवानसँग नभएर चीनसँग छ। बीबीसी र अन्तर्राष्ट्रिय एजेन्सीहरुको सहयोगमा
सी आफ्ना सेनासँग