‘स्वास्थ्य खबर हेल्थ अवार्ड’ दशौं संस्करण : कोभिड उपचारमा योगदान गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ७ : ४१


काठमाडाैं । यसवर्षको ‘स्वास्थ्य खबर हेल्थ अवार्ड’ कोभिडको समयमा अग्रभागमा बसेर बिरामीको सेवा र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने भएको छ।

स्वास्थ्य क्षेत्रमा विशिष्ठ सेवा पुर्‍याउने स्वास्थ्यकर्मीहरुको योगदानको पहिचान र सम्मान गर्ने उदेश्यका साथ संस्थाले उक्त अवार्ड वार्षिक रुपमा वितरण गर्दै आएको छ।

आयोजक स्वास्थ्य खबर पत्रिकाका अनुसार कोभिडको समयमा खटिएका सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा विभिन्न तह र तप्कामा रही सेवा पुर्‍याएका स्वास्थ्यकर्मीहरुलाई अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो।

यसवर्ष विभिन्न नौवटा विधामा अवार्ड प्रदान गरिने छ स्वास्थ्यखबरले बताएको छ। कोभिड महामारीको जोखिममासमेत बिरामीको सेवामा समर्पित डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शव व्यवस्थापकलगायत विधामा अवार्ड प्रदान गर्न लागिएको स्वास्थ्य खबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेले जानकारी दिए।

‘कोभिडजस्तो विश्वव्यापी महामारीको समयमा अग्रभागमा रहेर बिरामीलाई सेवा पुर्‍याउने स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न पाउँदा हामीलाई गौरव महसुस भएको छ,’ न्यौपानेले भने, ‘यसवर्षको अवार्ड खोप नपाएर मानिसहरु कोभिड संक्रमणसँग त्रसित भएरहेका बेला आफ्नो ज्यान जोखिममा पारेर कर्तव्य पालना गर्ने र मानव जीवन बचाउन योगदान पुर्‍याएका समग्र स्वास्थ्यकर्मीहरुप्रति समर्पित छ।’

उनका अनुसार कोभिडको समयमा बिरामीको उपचारमा संलग्न रहँदारहँदै जीवन गुमाएका देशैभरका स्वास्थ्यकर्मीहरुलाई विशिष्ठ सेवा सम्मानले सम्मानित गरिने छ। यस्तो सम्मान मृतक स्वास्थ्यकर्मीको परिवारका सदस्यलाई हस्तान्तरण गरिने छ।

यही भाद्र १७ गते काठमाडौंमा एक विशेष समारोहबीच अवार्ड वितरण कार्यक्रम तय गरिएकोसमेत न्यौपानेले बताए। अवार्डको लागि नामावली संकलन, छनोट र अन्तिम निर्णयको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेतको सहयोगमा स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सम्मिलित निर्णायक समिति गठन गरिएको छ।

समितिले अवार्डको नामावली संकलनका लागि आवेदन, मनोनयन र जिल्ला–जिल्लाबाट सूचना संकलन कार्य गरिरहेको बताइएको छ। हालसम्म देशैभरीबाट विभिन्न विधाका सरकारी तथा सामुदायिक संस्थामा कार्यरत करिब ५०० स्वास्थ्यकर्मीहरुको नामावली संकलन भएको छ।

१२ वर्षअघि सुरु भएको ‘स्वास्थ्य खबर हेल्थ अवार्ड’ यसअघि दुईवर्ष कोभिडका कारण स्थगित भएको थियो। सरकारी तथा सामुदायिक संस्थाहरुमा रहेर अति विपन्न तथा गरिब परिवारहरुको स्वास्थ्य अधिकारका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने अवार्डले स्वास्थ्यमा सेवाभाव प्रवर्धन गर्ने आयोजकको मत छ।

स्वास्थ्य खबर पत्रिका नेपालको पहिलो स्वास्थ्य क्षेत्रको विशिष्ठिकृत पत्रिका हो। मासिक रुपमा प्रकाशन हुँदै आएको पत्रिकाको प्रकाशन १४ वर्ष पहिला सुरु भएको थियो।


प्रतिक्रिया दिनुहोस्