पेलोसी भ्रमणः चिनियाँ आक्रमणको आशंकापछि चार अमेरिकी युद्धपोत पूर्वी ताइवानमा तैनाथ

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ४ : ४७


काठमाडौं। एसिया भ्रमणमा निस्किएकी अमेरिकी सभामुख न्यान्सी पेलोसीले आजै चीनले आफ्नो भूमी दाबी गर्ने ताइवान भ्रमणमा जानसक्ने अमेरिकी संचारमाध्यमहरुले जनाएका छन्।

सीएनएनले दिएको जानकारीअनुसार ताइवान सरकारका अधिकारीहरु र अमेरिकी अधिकारीहरुले पेलोसीले आजै ताइवन भ्रमण गर्ने सम्भावना भएको जनाएका छन्।

उता चीनले बारम्बार पेलोसी ताइवान पुगे अमेरिकाले गतिलो जवाफ भेट्ने र नराम्रो परिणाम भोग्ने चेतावनी दिइरहेको छ। संचारमाध्यमहरुमा पेलोसीले ताइवान भ्रमण गर्ने समाचार सम्प्रेषण भइरहँदा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले चेतावनी जारी गर्दै भनेको छ,‘पेलोसीले ताइवानको भ्रमण गरे चीनले सैन्य कारवाही गर्नसक्छ।’

यसअघि चिनियाँ संचारमाध्यमहरुले पेलोसी ताइवान पुग्न अघि नै उनको विमान चीनले खसाउने दाबी गरेका थिए। यस क्रममा चीनको सम्भावित आक्रमणलाई मध्यनजर गर्दै अमेरिकी चार युद्धपोत र युद्धक विमानहरु ताइवान वरपर तैनाथ भएको एनडीटीभीले जनाएको छ।

दक्षिण चीन सागर हुँदै फिलिपिन्स सीमा ती युद्धपोत र युद्धक विमानसहितका डुंगा पुगेको जनाइएको छ। ताइवानको पूर्वी क्षेत्र, फिलिपिन्सको पूर्वी क्षेत्र र जापानको दक्षिणी क्षेत्रमा ती युद्धपोत तैनाथ भएका हुन्।

अमेरिकी सेनाका अनुसार ती युद्धपोतहरु नियमित गस्ती तथा अभ्यासको लागि त्यहाँ तैनाथ भएका हुन्। यद्यपी आफूमाथि आइपर्ने जस्तोसुकै खतराको सामना गर्न अमेरिका तयार भएको सेनाको भनाइ छ।

यसअघि ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले यदी पेलोसी ताइवान पुगे चीनले सो क्षेत्रमा क्षेप्यास्त्र हान्ने सम्भावना रहेको बताएका थिए।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले सोमबारबाट एसिया भ्रमण सुरु गरेकी थिइन्। पेलोसिले सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण गर्ने भएता पनि ताइवानबारे केही उल्लेख थिएन।

यतिबेला भने उनले ताइवान भ्रमण गर्ने चर्चा चलिरहेको छ। विश्लेषकहरुका अनुसार यदी पेलोसीले ताइवान भ्रमण गरे चीनले आफ्नो प्रतिष्ठाको लागि भएपनि ताइवान कब्जा गर्ने अभियान सुरु गर्नसक्छ।

हालै मात्र पनि चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी समकक्षी जो बाइडनसँग दुई घण्टा फोनमा कुराकानी गर्दै एक चीन नीतिको सिद्धान्त पालना गर्न सम्झाउँदै ताइवानको विषयमा हस्तक्षेप गरे अमेरिका ‘जल्ने’ चेतावनी दिएका थिए।

वास्तवमा ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ।

चीनले ताइवानलाई आक्रमण गरेरै भएपनि आफूमा समाहित गर्ने बताउँछ तर ताइवान त्यो स्वीकार गर्दैन। उसले चीनबाट आफूलाई सुरक्षित राख्ने भनेर अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ। जसले चीनलाई रुष्ट बनाएको छ।


प्रतिक्रिया दिनुहोस्