विप्लव विरुद्धको पक्राउ पुर्जी फिर्ता लिन एमालेको माग

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ४ : ०२


काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरु विरुद्ध जारी भएको पक्राउ पुर्जी फिर्ता लिन माग गरेको छ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले उनीहरुविरुद्ध जारी पक्राउ पुर्जी फिर्ता लिन माग गरे।

तत्कालीन ओली सरकारले सहमतिमार्फत विद्रोहमा रहेको नेकपालाई शान्तिपूर्ण राजनीतिमा ल्याएको भन्दै उनले उक्त सहमति पालना गर्दै उनीहरुविरुद्ध जारी भएको पक्राउ पुर्जी फिर्ता लिन माग गरे। कारबाहीको नाममा विप्लव समूहलाई फेरि हिंसा पठाउन नहुने भन्दै प्रमुख सचेतक भट्टराईले पक्राउ पुर्जी फिर्ता लिन माग गरे।

ललितपुर जिल्ला अदालतले सोमबार सार्वजनिक सूचना जारी गर्दै नेकपा महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विक तथा मेहन्तप्रकाश वली, मोहनबहादुर कार्कीसहित ३५ जनाविरूद्ध हातहतियार तथा खरखजाना, साङ्गठानिक अपराध र आपराधिक लाभ, विस्फोट गराई कर्तव्य ज्यान तथा राज्य विरुद्धको अपराध र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो।


प्रतिक्रिया दिनुहोस्