तोडफोडको घटनापछि हर्क साम्पाङ भन्छन्ः मलाई जलाउन खोज्ने आफैं खरानी बन्नेछन्

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ११ : ०९


काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएपछि यो विषयमा मेयर साम्पाङ आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन्।

गत आइतबार सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेका केही व्यक्तिहरुले उनको कार्यकक्षमा तोडफोड गरेका थिए।

धरानको बराह सहकारीले बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको र त्यो असुल गर्नमा मेयरले भूमिका नखेलेको भन्दै आन्दोलित व्यक्तिहरुले साम्पाङको कार्यकक्षमा तोडफोड गरेका थिए।

यस विषयमा साम्पाङले लगत्तै फेसबुक स्टाटसमा भनेका थिए, ‘म पीडितको पक्षमा उभिँदा, छानबिन प्रकृया अघि बढाउन चाहँदा सबै प्रकृया विथोल्ने गरी मेरो कार्यालय तोडफोड गर्ने यिनीहरुलाई के भन्नु हुन्छ, अब यसरी पिडितले न्याय पाउँलान् त?’

त्यस्तै अर्को एक भिडिओ पोस्टमा उनले आफ्नो कार्यकक्षमा तोडफोड मच्चाउने व्यक्तिहरु राजनीतिक षड्यन्त्रबाट प्रेरित भएको र उनीहरुले आफूलाई बदनाम गर्ने कार्य गरेकाले कारवाहीको दायरमा उनीहरुलाई ल्याउने बताएका थिए। उनले पीडितको पक्षमा आफू उभिएको र उनीहरुको रक फिर्ता ल्याउन काम गरिरहेको उल्लेख गर्दै अराजक भीडले त्यो मुद्दा ओझेलमा पर्ने समेत चेतावनी दिएका छन्।

यस्तै उनले आफूविरुद्ध राजनीतिक षड्यन्त्र रच्ने व्यक्तिहरु आफैं जलेर खरानी हुने पनि उल्लेख गरेका छन्। उनले भनेका छन्,‘ज्वालामूखीको लाभामा जे जल्न बाँकी रहेर बचेको हुन्छ त्यो नै हो हर्क साम्पाङ हो। मलाई जलाउन खोज्ने सबै खरानी बने, बनिरहेका छन् र बन्दैजानेछन्, कारण अहिले नभनौँ देखिनेछ परिणाम।’

अर्को एक स्टाटसमा उनी भन्छन्,‘मेरो कार्यालयमा हमला गर्नु भनेको म माथि हमला गर्नु हो। म कुनै व्यक्ति होइन सरकार प्रमुख हुँ। यो हेक्का रहोस्।’

यसैगरी उनले सहकारीहरुले हिसाब किताब देखाउन नसके कारवाहीको दायरामा ल्याउने पनि बताएका छन्।


प्रतिक्रिया दिनुहोस्