दिल्ली। हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न अनुमति पाएका छन्। उनले हतियारको लाइसेन्स प्राप्त गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको धम्की पत्रलाई ध्यानमा राख्दै उनले आत्म–सुरक्षाको लागि हतियार लाइसेन्सका लागि आवेदन दिएको र उनको माग स्वीकार गरिएको मुम्बई पुलिसले जनाएको छ।
अभिनेता खानले मुम्बईका प्रहरी प्रमुख विवेक फान्सालकरलाई भेटेर आफू र आफ्ना बुबालाई आएको मार्ने धम्कीपत्रबारे छलफल गरेका थिए।
गत मे २९ मा पन्जाबको मानसा जिल्लामा पञ्जाबी गायक सिद्धु मूस वालाको गोली हानी हत्या भएपछि ५ जुनमा सलमान खान र उनका बुबा सलिम खानलाई मार्ने धम्की आएको थियो। सलिम खानको सुरक्षा टोलीले उक्त चिठी मुम्बईको बान्द्रा ब्यान्डस्ट्यान्ड प्रोमेनेड नजिकै भेटेको थियो जहाँबाट उनीे नियमित बिहानको दौडमा निस्कने गर्छन्।
अभिनेताले हिन्दीमा प्राप्त गरेको चिठीमा सलिम खान र उनका छोरा दुवैले मारिएका गायक सिद्धु मूसवालाको जस्तै नियति भोग्ने चेतावनी दिइएको प्रहरीले बताएको छ। महाराष्ट्र गृहमन्त्रालयबाट प्राप्त जानकारीअनुसार बिश्नोई गिरोहले अभिनेता खान र उनका बुबालाई धम्की दिनुको कारण आफ्नो शक्ति देखाउनु हो भनेको छ।
उक्त गिरोहले ठूला व्यवसायी र कलाकारसँग रकम असुल्ने तयारी गरिरहेको बताइएको छ। धम्कीपत्र भेटिएपछि मन्त्रालयले खानको सुरक्षा निगरानी बढाएको छ। मुम्बई प्रहरीको अपराध शाखाले धम्कीपत्रको छानबिन गरिरहेको छ।
छानबिन गर्न गत महिना पुना गएको प्रहरी टोलीले लरेन्स बिश्नोई गिरोहका सदस्य सिद्धेश हिरामन काम्बले अर्थात् महाकालसँग सोधपुछ गरेको थियो।
यसैबीच यतिबेला सलमान खान बुलेटप्रुफ कारमा समेत हिँड्ने गरेका छन्।