‘सहमति कार्यान्वयन नगरेर हामीलाई थुन्नेतिर राज्य लाग्यो भने प्रतिरोधको विकल्प छैन’

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  २ : २२


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत नेता–कार्यकर्ताहरुविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ ।

तत्कालीन नेकपाका नेताहरू २० फागुन २०७७ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारसँग ३ बुँदे सहमति गर्दै हिंसात्मक राजनीतिलाई त्यागेर शान्तिपूर्ण राजनीतिमा आएका थिए । सहमतिको पहिलो बुँदामा वार्ता र संवादबाट समस्या समाधान गर्ने, तथा दोस्रोमा शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने तथा तेस्रो बुँदामा कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्न र सम्पूर्ण मुद्दाहरु खारेजका विषय समावेश थियो ।

तर सहमति भएको झण्डै तीन वर्ष पुग्न लाग्दासमेत सहमति कार्यान्वयन नहुँदा नेकपाका नेताहरूका नाममा ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

जारी पक्राउ पुर्जीमा महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड, उनकी श्रीमती नन्दा विश्वकर्मा, उदयबहादुर चलाउने, धर्मेन्द्र बास्तोला, पदमबहादुर राई, सन्तोष बुढामगर, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, नवीन विश्वकर्मा, उमा भुजेल, शंखर दमाई, दमयन्तीकुमारी श्रेष्ठ चिमोरिया, बाबुलाल पुनमगर, सुदीप कुँवरलगायत छन् । उनीहरु बिरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्य विरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको लगायत मुद्धा छ ।

पक्राउ पुर्जी जारी हुनेहरुमध्ये सो पार्टीका ‘जनसरकार’ प्रमुखसमेत रहेका नेता बुढामगर पनि छन् । उनले अदालतको आदेशमा आत्मसमर्पण नगर्ने बताएका छन् । ‘हामी आत्मसमर्पण गर्दैनौँ । प्रतिरोध हिजो पनि गरेको हो, भोलि पनि गरिने छ । जसरी देशमाथि हस्तक्षेप भइराखेको छ । त्यसको हामीले डटेर विरोध गर्छौ । हामीले शान्तिपूर्ण तरिकाले नै प्रतिरोध गर्ने कुरा हुन्छ ।’ उनले भने ।

साथै सरकारसँगको तीन बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको भन्दै उनले भने( ‘सबैभन्दा पहिला हामी तीन बुँदे सहमति लागु गर भनेर सरकारलाई दबाब दिन्छौँ । यदि त्यस्तो गर्दा पनि हामीलाई दमन गर्ने र थुन्नेतिर राज्य लाग्यो भने हामीले प्रतिरोध गर्नुको कुनै विकल्प रहँदैन । हामीलाई लगाएको मुद्दा कुनै चोरी डकैती, राष्ट्रघात, भ्रष्टाचार गरेर लागेको होइन ।’

त्यस्तै, हाल विप्लव समूह छोडेर नेकपा (बहुमत) गठन गरेका धर्मेन्द्र बास्तोलाले सरकारले सहमति कार्यान्वयन नगर्दा पक्राउ पुर्जी जारी भएको हुनसक्ने बताएका छन् । बास्तोलालाई पनि पक्राउ गर्न पुर्जी जारी भएको छ ।

‘हामी खुला राजनीतिमै थियौं । तत्कालीन सरकारले जबर्जस्ती प्रतिबन्ध लगाएर धकेल्न खोजेको थियो । त्यसपछि हामीले सहमति गरेर शान्तिपूर्ण खुला राजनीतिमा आएका हौं ।’ उनले भने, ‘सहमति कार्यान्वयन गर्ने प्रक्रियामा सरकारले ढिलाढाला गरेको हुनाले अदालतले जारी गरेको होला । अब सरकारसँग नै कुराकानी हुन्छ ।’


प्रतिक्रिया दिनुहोस्