काठमाण्डौँ-२ बाट चुनाव लड्ने राममणी नेपालको घोषणा

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ६ : ०५


काठमाण्डौँ । ‘नेपालको लागि नेपाली’ पार्टीका उपाध्यक्ष राममणी नेपालले काठमाण्डौँ क्षेत्र नम्बर-२ बाट चुनाव लड्ने घोषणा गरेका छन्।

भक्तपुरको चाँगुनारायण-८ का बासिन्दा रहेका उपाध्यक्ष नेपालले आगामी संघीय निर्वाचनमा काठमाण्डौँ-२ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन्।

नेपालले सामाजिक संजाल फेसबुकबाट सो जानकारी गराएका छन्। गत २०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट नेकपा एसका अध्यक्ष माधव नेपालले जितेका थिए भने एमालेका स्वर्गिय नेता मदन भण्डारीले पनि त्यहीँबाटै चुनाव लडेर जितेका थिए।

उपत्यकाकै केन्द्र, शिक्षित र मुलुक विकासमा बिभिन्न अभियान सुरुवात गर्ने ठाउँ नै काठमाण्डौँ-२ रहेकाले आफूले यो क्षेत्र रोजेको नेपालले दैनिक अनलाइनसंग बताए।

धर्मसंस्कृतिको उजागरण गर्दै भ्रष्टाचार निवारण, रोजगारी सिर्जना गर्ने लगायतका एजेण्डा लिएर चुनावमा होमिने नेपालले बताए।  मुलुकमा क्रिश्चियानिटी भित्रन प्रश्रय दिने खालका गतिविधि बढेका कारण हिन्दू धर्म जर्गेना गर्नको लागि सबैको सल्लाह लिएर चुनावमा होमिएको उनको भनाई छ।

माधव नेपालसंगै अरु काँग्रेसका नेताले पनि सो क्षेत्र विकासको लागि उल्लेख्य काम गर्न नसकेको उनले आरोप लगाए। आफूले जितेमा क्षेत्र नम्बर-२ लाई सांस्कृतिक र धार्मिक सहर बनाउने उनको उद्घोष छ।

नेपालको लागि नेपाली पार्टी यसअघि भ्रष्टाचारविरोधी अभियानको रुपमा थियो। अहिले त्यसलाई निर्वाचन आयोगमा दर्ता गरी पार्टीको रुप दिइएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने अध्यक्ष रहेको सो पार्टीले आयोगबाट शंख चुनाव चिन्ह पनि पाइसेकको छ। पार्टीले आगामी चुनावमा देशब्यापी रुपमा उम्मेदवार उठाउने अध्यक्ष न्यौपानेले बताए।


प्रतिक्रिया दिनुहोस्