चीनसँग कडा रुपमा प्रस्तुत भएपछि अमेरिकालाई धन्यवाद भन्यो ताइवानले

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ५ : ०३


चीनसँग कडा रुपमा प्रस्तुत भएपछि अमेरिकालाई ताइवानले धन्यवाद भनेको छ।

बिहीबार अमेरिकी र चिनियाँ राष्ट्रपतिहरूबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिनपिङलाई उक्त टापुको हैसियत परिवर्तन गर्ने एक पक्षीय कदमको अमेरिकाले कडा विरोध गर्ने बताएका थिए।

वास्तवमा ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ।

चीनले ताइवानलाई आक्रमण गरेरै भएपनि आफूमा समाहित गर्ने बताउँछ तर ताइवान त्यो स्वीकार गर्दैन। उसले चीनबाट आफूलाई सुरक्षित राख्ने भनेर अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ। जसले चीनलाई रुष्ट बनाएको छ।

यस क्रममा बाइडनले चीनलाई ताइवानको स्थिती परिवर्तन गर्ने चिनियाँ कदम अस्वीकार गर्ने बताएपछि ताइवान खुशी भएको हो।

ताइवानकी राष्ट्रपति साइ इंग वेनले अमेरिकालाई धन्यवाद भन्दै आफ्नो समर्थन गरेकोमा खुशी व्यक्त गरेकी हुन्।

चिनियाँ राष्ट्रपति सीले भने बाइडेनलाई एक चीन नीतिको सिद्धान्त पालना गर्न सुझाव दिएका थिए। उनले अमेरिकालाई इंगित गर्दै भनेका छन्, ‘आगोसँग खेल्ने मान्छे अक्सर जल्दछन्।’


प्रतिक्रिया दिनुहोस्