यी ब्रिटिस लाहुरेले सहकर्मीको श्रीमतीलाई दुःख दिएपछि सैन्य अदालतले लियो यस्तो निर्णय…

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : ३०


लण्डन। सेवाका क्रममा श्रीमान देशबाहिर भएको मौका पारी आफ्नै सहकर्मीकी श्रीमतीलाई सामाजिक सन्जालमा म्यासेज पठाउँदै सताएको अभियोगमा एक बेलायती गोर्खा सैनिक कारवाहीमा परेका छन्।

डेलीमेलका अनुसार बुलफोर्ड सैनिक अदालतले ३४ वर्षीय विवाहित सर्जेन्ट बमप्रसाद लुम्बालाई सहकर्मीकी श्रीमतीको नजिक जान प्रतिबन्ध लगाउनुका साथै पदबाट घटुवा गरिदिएको छ।

लुम्बाले सहकर्मीकी श्रीमतीलाई चार महिनाको अवधिमा २७ पटक फोन गरेका थिए। साथै उनले सामाजिक सन्जालमा पनि ‘म खाना खान कहिले आउँ’ भन्दै धेरैपटक म्यासेज पठाएका थिए।

ती श्रीमतीले त्यस्ता म्यासेज पठाउन बन्द गर्न पटकपटक आग्रह गर्दा र सामाजिक सन्जालमा ब्लक गर्दा पनि लुम्बाले नयाँ नयाँ प्रोफाइल बनाउँदै सताउने गरेको अदालतले बताएको छ।

लुम्बालाई यतिबेला कारबाही गरेर सर्जेन्ट पदबाट कर्पोरलमा झारिएको छ।

न्यायाधीश रोबर्ट हिलले सेवाका क्रममा देशबाहिर गएका गोर्खा सैनिकको श्रीमतीको सहकर्मी गोरखा सैनिकले हेरचाह गर्नु पर्नेमा रोमान्सका लागि फकाउनु सैन्य समुदायमा स्वीकार गर्न नसकिने घटना भएको बताएका छन्।

लुम्बा क्वीन्स ओन गोरखा लजिस्टिक रेजिमेन्टमा कार्यरत छन्। लुम्बाका वकिलले लुम्बाले खराब नियतले त्यसो नगरेको तर दुर्भाग्यपूर्ण घटना भएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्