उच्चस्तरीय भेटवार्तामा सक्रिय अमेरिकी सहायक विदेशमन्त्री लु, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्दै

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ८ : २२


काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन्।

उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यतालिका छ। आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता हुने कार्यसूची रहेको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। त्यसअघि परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ताको कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

लु गत मंसिरमा पनि नेपाल आएका थिए। नेपाल सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लु काठमाडौं आएका हुन्। सरकारले गत असार ६ मा एसपीपी अघि नबढाउने निर्णय गरे पनि अमेरिकालाई पत्राचार गरेको छैन।

लुले गत मंसिरमा नेपाल आउँदा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन भएको थिएन। उनी उक्त भ्रमणका दौरान एमसीसी सम्झौतालाई अघि बढाउन नेपालको राजनीतिक र कूटनीतिक तहमा संवाद गरेर फर्केका थिए। नेपालले फागुन १५ मा सम्झौता अनुमोदन गरिसकेको छ।

लुले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई बिहीबार साँझ प्रदान गरेका छन्। लुले बिहीबार व्यापारी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटघाट गरेका छन्।


प्रतिक्रिया दिनुहोस्