आर्थिक संकटले ग्रस्त श्रीलंका चीनबाट लिँदैछ ऋण, के चिनियाँ सहयोग खतरा हो?

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  २ : ४५


काठमाडौं। पछिल्लो केही समययता गम्भीर आर्थिक चुनौतीको सामना गरिरहेको दक्षिण एसियाली राष्ट्र श्रीलंकाले यस संकटबाट मुक्ति पाउन चिनियाँ आर्थिक सहयोगको माग गरेको छ।

चीनका लागि श्रीलंकाली राजदूत पालिथा कोहोनाले समाचार संस्था रोयटर्ससँगको कुराकानीमा श्रीलंकाले चिनियाँ ऋण तथा अनुदान चाहेको पुष्टि गरेका हुन्।

यससँगै श्रीलंका सरकारले चीनसँग चार अर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज प्राप्त गर्नको लागि पनि लगातार छलफल गरिरहेको छ।

२ करोड २० लाख जनसंख्या भएको श्रीलंका आधुनिक इतिहासमा सबैभन्दा ठूलो आर्थिक संकटमा फसेको छ। अहिले श्रीलंकामा खाद्यान्न, औषधि, तेल, ग्यास लगायतका अत्यावश्यक सामग्रीको चरम अभाव छ। अभावसँगै महँगी अचाक्ली बढेको छ।

आर्थिक संकट टार्न नसकेपछि तत्कालिन राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भाग्न बाध्य भएका छन्। प्रदर्शनकारीले सरकारी निवासमै तोडफोड मच्चाउन सुरु गरेपछि उनी माल्दिभ्स हुँदै सिंगापुर भागेका हुन्।

यस्तो विषम परिस्थितीमा पूर्व प्रधानमन्त्री रहेका रनिल विक्रमासिंघे देशको राष्ट्रपति बनेका छन्। यतिबेला उनको सरकारले देशलाई संकटमुक्त गर्नसक्छ त भनेर विभिन्न अड्कलबाजी भइरहेका छन्।

देशको आर्थिक संकटलाई नियन्त्रण गर्न विक्रमासिंघेको सरकारले विभिन्न देशसँग यतिबेला आर्थिक सहायताको माग गरिरहेको छ।

Sri Lanka to maintain excellent ties with China regardless of change in  govt: Ambassador to China - Global Times

पालिथा कोहोना

श्रीलंकाली राजदूतले के भने?
रोयटर्ससँगको अन्तर्वार्तामा चीनका लागि श्रीलंकाली राजदूत पालिथा कोहोनाले आफूहरुले चिनियाँ कम्पनीले श्रीलंकाको ब्ल्याक टी, नीलमणि, मसाला तथा कपडा खरिद गरोस् भन्ने चाहेको बताए।

चीनले आफ्नो आयातको नियममा पारदर्शिता बढाउनु पर्ने पनि उनको भनाइ छ। त्यसो भएमा चीनबाट हुने निर्यात सहज हुने उनको भनाइ छ।

सन् २०२० मा कोभिड–१९ को प्रकोपका कारण चिनियाँ लगानीसँग सम्बन्धित धेरै ठूला आयोजनाहरु सम्पन्न हुन नसकेको भन्दै कोहोनाले कोलम्बो र हम्बनटोटामा रहेका चिनियाँ आयोजनामा ​​लगानी बढाएर चीनले श्रीलंकालाई सहयोग गर्न सक्ने बताए।

यससँगै उनले चिनियाँ पर्यटकको संख्या श्रीलंकामा बढाउनुपर्ने पनि जनाएका छन्। अहिले श्रीलंकाले राहत प्याकेजको रुपमा ४ अर्ब पाउन चीनसँग छलफल गरिरहेको छ। पाउनेमध्ये श्रीलंकाले १ अर्ब भने चीनलाई नै ऋण तिर्न फर्काउनुपर्ने हुन्छ।

श्रीलंका देशको अवस्था जोगाउन ऋण चाहन्छ
श्रीलंकाले गत हप्तादेखि विश्वका विभिन्न देशसँग आर्थिंक सहयोगको माग गरिरहेको छ। चीनसँग पनि श्रीलंकाले सहयोगको लागि हात बढाएको छ।

चीन श्रीलंकालाई सबैभन्दा बढी ऋण दिने राष्ट्रमा पर्दछ। श्रीलंकाले लिएको ऋणमध्ये १० प्रतिशत ऋण चीनकै हो। यस्तोमा श्रीलंकामा संकट छाउनुमा चिनियाँ ऋणको पनि भूमिका छ।

श्रीलंकालाई सहयोग गर्न आफू सकारात्मक भएको चीनले बताइसकेको छ। चीनको विदेशमन्त्रालयले हालै भनेको छ,‘हामी अन्य देश र अन्तर्राष्ट्रिय वित्तिय संस्थासँग मिलेर श्रीलंकाको मद्दत गर्न सकारात्मक भूमिका निर्वाह गर्न चहन्छौं।’

Debt - Sri Lanka becoming Chinese colony is lesson for others - TFIPOST

चिनियाँ मद्दतको खतरा
चीनको विदेश मन्त्रालयले संकटको यो घडीमा श्रीलंकालाई सहयोग गर्न आफू सहमत भएको जनाएको छ।

तर विश्वभर चिनियाँ आर्थिक सहयोगलाई एक खतराको रुपमा हेर्ने गरिएको छ।

बेलायती खुफिया एजेन्सी एम१६ का प्रमुख रिचर्ड मुरले बीबीसीसँग यो विषयमा भन्छन्,‘चीन आफ्नो प्रभुत्व बढाउन दोस्रो राष्ट्रमा ‘ऋणको जाल’ प्रयोग गर्दछ।’

चीनमाथि यो आरोप लाग्ने गरेको छ कि जब कुनै देशले उसको ऋण चुक्दा गर्न सक्दैन उसले सो देशको सम्पत्तिमा कब्जा गर्दछ। चीनले भने यस्ता आरोपलाई स्वीकार गर्दैन।

चीनको ऋणको जालबारे पश्चिमा राष्ट्रहरुले जहिल्यै चर्चा गरिरहेका हुन्छन्। उनीहरु चिनियाँ नीतिबारे प्रस्ट पार्न श्रीलंकाको उदाहरण दिन्छन्। चीनको बेल्ट एन्ड रोड परियोजनालाई पनि उनीहरुले चिनियाँ ऋणको जालो भन्ने गरेका छन्।

सन् २००८ मा श्रीलंकाले हम्बनटोटा पोर्ट निर्माण गर्न सुरुवात गरेको थियो। चिनियाँ लगानीको सहयोगमा उक्त पोर्ट बन्न थालेको थियो। तर उक्त परियोजना विवादमा फस्दै गयो र काम पुरा हुन पाएन।

यसरी उक्त पोर्टको काम हुन नसकेपछि श्रीलंका ऋणमा फस्यो। ऋण तिर्न नसकेपछि सन् २०१७ मा श्रीलंकाले चीनलाई नै उक्त पोर्ट ९९ वर्षको लागि भाडामा दिएको छ। यस पोर्टमा ७० प्रतिशत हिस्सा चीनको रहने सम्झौता छ।

श्रीलंकाका राजदूत कोहोनाले यस परियोजनामा चीनले थप लगानी बढाउनुपर्ने माग गरेका छन्।

CIA Removes Vienna Station Chief Over Handling of Havana Syndrome Cases,  Report Says

अमेरिकाको चेतावनी
अमेरिकी खुफिया एजेन्सी सीआईएका प्रमुख बिल बर्न्सले गत बुधबार श्रीलंकामा निम्तिएको संकटको एक कारण चिनियाँ ऋण पनि भएको बताए।

चिनियाँ ऋण लिन अगाडि अन्य देशहरुले श्रीलंकाको हालत हेर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार चिनियाँ ऋण आकर्षक देखिन्छ तर जसले चीनबाट ऋण लिन्छ त्यो देश गहिरो राजनीतिक र आर्थिक खाडलमा फस्छ।

चिनियाँ ऋणको ब्याज अन्यभन्दा निकै बढी भएकाले पनि यो खतरनाक भएको बताइन्छ। बीबीसीहिन्दीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्