विपद् र जोखिममा पर्दा सामुहिक उद्धार एम्बुलेन्सलाई कसरी पाउने ?

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  २ : ०५


काठमाण्डौँ । बर्षायामको सुरुवातसंगै नेपालमा बाढी पहिरोको जोखिम उच्च हुन्छ । यसपटक पनि बर्षायाम सुरु भइसकेको छ । करिब ३ महिना यहाँ बाढी, पहिरो र डुवान घटनाहरु घटिरहन्छन् ।।मनसुन सुरु भएपछि अहिलेसम्म २३ जनाले ज्यान गुमाइसकेका छन् भने उत्तिकै संख्यामा वेपत्ता छन् । केही विस्थापित भएका गृह मन्त्रालय बताउँछ । यस्तो बेला विशेष सावधानी अपनाउन सकिएन भने धेरै जनधनको क्षति हुन्छ । प्राकृतिक विपद् या जोखिमको बेला सावधानी अपनाउन या सम्बन्धित निकायमा सम्पर्क गर्न सकिएन भने मानिसको ज्यान जान सक्छ । त्यसैले यसबारे ज्ञान हुन जरुरी छ ।

नेपाल सरकारका गृहमन्त्रालय अन्तर्गत ३ बर्षदेखि राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम र विपद्को क्षेत्रमा काम गरिहरको छ । यस वर्षबाट प्राधिकरणले सामुहिक उद्धार एम्बुलेन्स पनि सुरु गरेको छ । यसलाई गुड्ने मिनी अस्पताल पनि भनिएको छ । भेन्टिलेटर, अल्ट्रासाउन्ड, स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्रीसहितको यस एम्बुलेन्समा सिसिटिभी जडान गरिएको छ । विपद्बाट धेरै जना समस्यामा परे भने एकै चोटि उद्धार गर्न सक्ने गरी यसको प्रयोग गर्न सकिने कार्यविधि बनेपछि कार्यान्वयनमा आउने छ ।

तर यसको पहुँचमा कसरी पुग्ने भन्नेबारे धेरैलाई थाहा नै छैन । तत्कालको लागि यो एम्बुलेन्स सात प्रदेशमा एकएक वटाको दरले पुग्ने छन् । त्यसको प्रयोग र परिचालन शशष्त्र प्रहरीमार्फत् हुने प्राधिकरणका प्रवक्ता तथा सुचना अधिकारी डाक्टर डिजन भट्टराई बताउँछन् । आगामी दिनमा एक स्थानीय तह एक सामुहिक उद्धार एम्बुलेन्सको अवधारणमा आफूहरु रहेको बताउँदै सुरुवात सातवटाबाट गरिएको उनले बताए । विपद् र जोखिमका उच्च सम्भावित ठाउँमा यी एम्बुलेन्सहरु पुग्न सक्ने गरी तैनाथी अवस्थामा रहेका उनले दैनिक अनलाइनसंग बताए ।

जल तथा मौसम विभागको फोन नम्बर ११५५ मा फोन गर्दा पनि आवश्यकता अनुसार यो एम्बुलेन्स प्रयोग गर्न सकिने छ भने राष्ट्रिय आपतकालिन कार्य सञ्चालनको ११४९ र नेपाल प्रहरीको १०० नम्बरमा फोन गर्दा पनि उद्धार पाइने छ । आवश्यक र सम्भव ठाउँमा त्यही सूचनाको माध्यमबाट यो एम्बुलेन्स पनि पुग्ने भट्टराईले बताए ।

यस बर्ष पनि जोखिमयुक्त ठाउँहरू पहिचान गरेर सम्बन्धित निकायलाई तैनाथ पारेर राखिएको उनले बताए । अहिले त्यस्ता जोखिमयुक्त ठाउँहरुलाई चिनेर सुरक्षित स्थान तर्फ जान पूर्व जानकारी दिने लगायतका काम पनि आफूहरुले गरिरहेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्