‘प्राङ्क’ को नाममा एसिड खन्याइदिने धम्की, महिला भइन् झण्डै ‘बेहोस्’

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ०२


काठमाण्डौँ । प्राङ्कको नाममा आजभोलि विकृति मौलाउन थालेको छ । सामाजिक संजालमा भाइरल बन्ने नाममा नियोजित रुपमा बनाइने यस्ता प्राङ्क सामाग्रीले मानिस आतंकित हुने गरेका छन् भने कतिपय साँच्चिकै समस्यामा पर्ने गरेका छन् । यी सामाग्रीले सकारात्मक सन्देश दिनुको सट्टा समाजलाई गलत बाटोमा हिँडालिरहेको बुझ्न सकिन्छ ।

यसैबीच पछिल्लो समय एउटा प्राङ्क भाइरल भइरहेको छ । एकजना महिला बाटोमा झोला समातेर हिँडिरहेकी हुन्छिन् । त्यही बेला एक पुरुष हातमा बोतल समातेर अगाडी आएर झोला खोस्दै ती महिलालाई धम्क्याउन थाल्छ । उनको झोलामा नगद पैसा थियो ।

पुरुषः तपाई बैङ्क गएर आएको होइन ? झोलामा दुई लाख छ हैन । दिनुहोस् नभए
तपाई अपहरणमा पर्नु हुन्छ है दिदी ।
महिलाः के भन्नुहुन्छ ? (आत्तिँदै)
पुरुषः तपाई यताउता गर्नुभयो । एक पाइला चाल्नु भयो भने । यो एसिड मैले अनुहारमा खन्याइदिन्छु ।
महिलाः भको जति दिइसकेँ भाइ (आत्तिँदै)
उसले यसैगरी धम्की दिइरहन्छ
महिलाः दिन्छु भाइ दिन्छु भाइ (निकै आत्तिँदै)
पुरुषः त्यो क्यास पैसा लिनु । ह्याण्ड क्यास पैसा ल्याउनू । (छिटो ल्याउनु भन्दै ब्याग खोस्छ)
महिलाः झोला याँ अरु अरु पनि छ (असिनापसिना हुँदै)
पुरुषः एसिड हान्दिम ज्यानको माया छैन, ज्यानको माया छैन (धम्क्याउँदै)
महिलाः भाइ तपाईँ अनि दिदी भनेर किन यस्तो गर्नुहुन्छ ?
पुरुषः एसिड हान्दिम एसिड हान्दिम ।
महिलाः दिन्छु भाइ दिन्छु ।
उसले फेरि गहना, मोबाइल पनि माग्छ ।
पुरुषः त्यो गहना पनि लेउ, त्यो गहना लेउ ।
महिलाः छैन, छैन भन्छिन् । (झण्डै बेहोस् स्थिति)

एक शब्द बोले अनि दाँयाँबाँयाँ गरे एसिड खन्याउने धम्की दिन्छ । उसले मोबाइल पनि माग्छ । यताउता मानिस हेर्छ र ती महिलाको मोबाइल, औँठी, सिक्री, झोला सबै सामान खोसेर भाग्छ । र फर्कन्छ । अनि उसले भन्छ ऊ त्यहाँ हेर्नु त क्यामेरा छ । एकछिनपछि अन्तिममा जनचेतनाको लागि पनि भनिएको छ । यो प्राङ्क बदमास केटो युटुभ च्यानलमा भेटिन्छ ।

तर महिलाले अन्तिममा भने अनुसार ती प्राङ्करले साँच्चिकै एसिड नै बोतलमा ल्याएको बुझ्न सकिन्छ । यो समाचार तयार पार्दासम्म भिडिओमा साढे चार सय प्रतिक्रिया आएका छन् । तीमध्ये धेरैमा उक्त प्राङ्करलाई कारबाही गर्नु पर्ने लेखिएको छ । यदि ती महिला बेहोस् नै भएको भए के हुन्थ्यो ? लगायतका प्रतिक्रिया भिडिओमा आएका छन् । हुन पनि ती महिला झण्डै बेहोस् भएकी थिइन् भिडिओले त्यही बताउँछ ।
जनचेतनाको लागि पनि यस्तो विकृति फैलाउने भिडिओ सामाग्री बनाउन नपाईने नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरोले बताउँछ । अर्कोतर्फ नेपाल सरकारले एसिडलाई बिक्रिवितरण र प्रयोग पनि बर्जित गरेको छ । ती प्राङकरले सार्वजनिक स्थलमै एसिड लिएर हिँडिरहेका छन् । सामाजिक संजालमा भाइरल बनाएका छन् । जुन गर्न नहुने कार्य हो ।

सिआइबी प्रहरी प्रवक्ता श्याम कुमार महतोले यस्तो गतिविधि अपराध अन्तर्गत पर्ने बताए । नियोजित प्राङक भनेर कसैलाई धम्क्याउने, चरित्र हत्या गर्ने, विद्यूतीय साधनबाट ब्ल्याकमेल गर्न, त्रास फैलाउन नपाइने उनले बताए । तर प्राङक गरेकै आधारमा पक्राउ गर्न नमिल्ने र कसैले उजुरी दिएमा भने पक्राउ गरी अनुसन्धान गर्न मिल्ने उनले बताए । एसिड नै लिएर खन्याइदिन्छु भन्ने जस्ता भिडिओ सामा्रगीले समाजमा विकृति मौलाउने र गलत सूचना छर्ने भन्दै सतर्क रहन पनि उनले सचेत गराए । जोकोही पनि एसिड बोकेर हिँडेका, बिक्रिवितरण गरेको भेटिए कारबाही हुने उनले बताए । पछिल्लो समय सामाजिक संजालमा भाइरल हुने नाममा यस्ता गतिविध धेरै भएको देख्न सकिन्छ । जसले समाजमा विकृति विसंगति मौलाईरहेको छ । युटुभमा यस हदसम्म गर्ने नभए पनि गलत सन्देश दिने धेरै समाग्री भेट्न सकिन्छ ।

 


प्रतिक्रिया दिनुहोस्