नेपाली डा. चौरसिया, जसले ह्याम्समा छाती नचिरी मुटुको ‘भल्भ’ प्रत्यारोपण गरे

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  २ : १२


काठमाण्डौँ । नेपाली चिकित्सक डा. अमीत चौरसियाको नेतृत्वमा छाती नचिरी मुटुको भल्भको सफल प्रतयारोपण भएको छ । काठमाडौंको ह्याम्स अस्पतालमा करिब २ घण्टा लगाएर क्याथ ल्याबभित्र ७४ वर्षीय एक पुरुषमा भल्भ प्रत्यारोपण गर्न डाक्टर सफल भएका हुन् । यो शल्यक्रिया गर्न भारतबाट शनिबार काठमाडौं आएका डा. चौरसियाले ह्याम्स अस्पतालका चिकित्सकहरू डा. ज्योतीन्द्र शर्मा, डा. यादव भट्ट, डा. रवि बराल, डा. मुकुन्द शर्मा, डा. मुरारिराज उप्रेती, डा. सुरज लामिछानेको सहयोग लिएका थिए ।

यस प्रकारको शल्यक्रियामा डाक्टर चौरासिया विश्वमै अब्बल मानिन्छन् । व्यावसायिक रुपमा भारतको जयपुरस्थित अस्पतालमा चौरासिया कार्यरत छन् । यसअघि शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रपछि ह्याम्स अस्पतालमा पनि छाती नचिरी मुटुमा रहेको समस्याग्रस्त ‘भल्भ’ प्रत्यारोपण कार्य सफल भएको थियो । तर त्यतिखेरको नेतृत्वमा भारतीय चिकित्सक थिए । तर ह्याम्स अस्पतालमा भने नेपाली चिकित्सक डा.चौरासियाको नेतृत्व थियो ।

शल्यक्रियापछि बिरामीको अवस्था स्थिर रहेको ह्याम्स अस्पतालका मेडिकल निर्देशक तथा वरिष्ठ मुटु शल्यचिकित्सक डा. ज्योतीन्द्र शर्माले बताए । समस्या निकै जटिल भए पनि सफल भएपछि धेरै खुसी लागेको उनको भनाई छ ।वरिष्ठ छालारोग विशेषज्ञ डा. अशोककुमार चौरसियाका छोरा डा. अमीत चौरसिया हाल भारतको जयपुरस्थित इटर्नल अस्पतालमा कार्यरत छन् ।एमबीबीएस भारतको पन्डिचरीबाट गरेका डा. चौरसियाले भारतकै नयाँ दिल्लीस्थित एम्स अस्पतालबाट एमडी गरेका हुन् ।

उनले डीएम भारतको त्रिवेन्द्रमबाट गरेर हंगेरीको बुधापेस्टमा छाती नचिरिकनै गरिने मुटुको शल्यक्रियामा फेलोसिप गरेका हुन् । उनी भारतमा मात्रै नभएर दक्षिण एसियमा नै खुट्टाको नलीबाट क्याथेटर छिराएर गरिने मुटुको भल्भ प्रत्यारोपणलगायत उपचारमा विज्ञ चिकित्सक मानिन्छन् । उनले हालसम्म एक हजारभन्दा बढीमा यस प्रकारको उपचार गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्