६ महिनापछि इजरायलमा कामदार पठाउन सुरु, आइतबार उडे ८० जना

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ३ : ४४


काठमाण्डौँ । इजरायलमा  कामदार पठाउने प्रक्रिया पुनः सुरु भएको छ। नेपाल र इजरायलबीच सरकारीस्तरमा श्रम सम्झ्यौता भई १२ सय जना छनोट भएका थिए। तीमध्ये २ सय नब्बे जना गत जनवरीमा इजरायल गएका थिए भने जान बाँकी ९ सय १० जना बिभिन्न कारणले जानबाट रोकिएका थिए। ६ महिना अघि नै जानु पर्ने कामदारहरु आइतबारबाट जान सुरु गरेका छन्।

वैदेशिक रोजगार विभागका श्रीकान्त शाहले आइतबार ८० जनालाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुगेर विदाई गरेका थिए। त्यस्तै सोमबार ९० जना जाने बताउँदै तत्काल ७०० जना उडानको तयारीमा रहेको शाहले बताए। बाँकी पनि चाँडै इजरायल जाने विभागका निर्देशक शाहले दैनिक अनलाइनलाई बताए । शाहले सरकारले पठाएको हुनाले कुनै समस्या नहुने भन्दै आवश्यक कुराहरुको बारेमा विमानस्थलमै जानकारी गराएका थिए। पारिश्रमिक बढाइनुपर्ने,इजरायलका नागरिक सरह सेवा सु्विधा पाउनुपर्ने लगायतका मागर राखेर त्यहाँ आन्दोलन भएको थियो। त्यसपछि जाने अनुमति पाएका कामदार पनि रोकिएका थिए। प्रकृया पुरा भएर रोकिएका श्रमिकह पनि उडान पक्का भएपछि खुसी छन्।

लामो समय इजरायल बसी नेपालमा हिब्रु भाषा अध्यापन गराइरहेका यमकान्त न्यौपानेले नेपाली कामदारका लागि इजरायल आकर्षक गन्तव्य रहेको बताए। उनले नेपाल र त्यहाँको सरकारबीच सम्झ्यौत भए अनुसार नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र, वृद्धाश्रम लगायतका क्षेत्रमा केयर गिभरको रुपमा नेपाललीले काम गर्ने छन्। नेपालीका लागि विश्वमै सुरक्षित मानिने त्यहाँ नेपालीले श्रम गरेबापत नेपाली २ लाखसम्म कमाउन सक्ने न्यौपानेले बताए।

सन् २०२१ देखि श्रम सम्झौता भएर नेपालीहरु त्यहाँ जान थालेका छन्। सन् २०१५ मा सरकारीस्तरमा नै कामदार आपूर्ति गर्ने विषयमा नेपाल सरकारसँग इजरायलले ‘पाइलट प्रोजेक्ट’का रूपमा श्रम सम्झौता गरेको थियो। श्रम सम्झौताका आधारमा हिब्रु भाषा, अंग्रेजी र तालिम लिएका कामदारलाई परीक्षण प्रणालीबाट छनोट गरिएको विभागका निर्देशक साहले बताए। इजरायल रोजगारीमा जानका लागि तालिम, इजरायली भाषा र अंग्रेजी समेत जानेको हुनुपर्छ भने प्लस टु उत्तीर्ण भएको हुनुपर्दछ। ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष त्यहाँ जान पाउने छन्।


प्रतिक्रिया दिनुहोस्