सडकमै थुप्रन थाल्यो काठमाण्डौँको फोहर, दुर्गन्ध बढ्दै

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  २ : ०७


काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाको फोहर सडकमै थुप्रन थालेको छ । नुवाकोटको बंचरेडाँडा र सिसिडोल जाने बाटो मर्मत सुधार भइरहेको भन्दै एक हप्ता फोहर नउठ्ने महानगरपालिकाले जनाएको छ ।

महानगरले यस अवधिसम्म बर्गिकरण गरी घरघरमै फोहर जम्मा गर्न आग्रह गरेको छ । तर सर्वसाधारणले महानगरको आग्रहलाई अटेर गरी जथाभावी फोहर जम्मा गरेका हुन् ।

दरबारमार्ग, पुतलीसडक, डिल्लीबजार, वानेश्वर लगायतका ठाउँमा जथाभावी रुपमा फोहर जम्मा भएको देख्न सकिन्छ । विगत ३ दिनदेखि फोहर उठ्न नसकेपछि दुर्गन्ध पनि बढ्न थालेको सर्वसाधारण बताउँछन् । निरन्तरको बर्षा र पानी फोहरमा मिसिएपछि थप दुर्गन्ध बढेको सर्वसाधारणको भनाई छ । सडकमै फोहर जम्मा भएपछि सवारी आवतजावतमा पनि समस्या भएको छ भने सर्वसाधारण हिँड्ने पेटीमा पनि अवरोध भएको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले अझै केही दिन फोहर नउठ्ने भएकाले सोही अनुसार गर्न सर्वसाधारणलाई अनुरोध गरे । महानगरको सूचना अवज्ञा गर्दै जथाभावी फोहर जम्मा गर्नेलाई जरिवाना तिराउने उनले बताए । फोहरको दीर्घकालिन समाधान गर्ने गरी महानगरले योजना बनाइरहेको बताउँदै उनले कुहिने र नकुहिने फोहरको बर्गिकरण गरेर राख्न आग्रह गरेका छन् । बाटो मर्मसम्भार भइरहेकाले केहीदिनपछि फोहरको गाडी आउने उनले बताए । फोहर बर्गिकरण नभएको पाइए नउठाइने महानगरले बताएको छ ।

फोहरको मुद्धा बोकेर स्वतन्त्र रुपमा चुनाव जितेका मेयर बालेन्द्रलाई पनि काठमाण्डौँको फोहर ब्यवस्थापन गर्न प्रमुख चुनौति भएको छ ।

दरबारमार्गबाट कमलादी जाने बाटोमा शुक्रबार विहान थुप्रिएको फोहर


प्रतिक्रिया दिनुहोस्