दिनेश गुणवर्धना श्रीलङ्काको पन्ध्रौँ प्रधानमन्त्री

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १२ : २३


काठमाडौं। श्रीलङ्काको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन्।

श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

विभिन्न दलका विधायक एवम् राजनीतिक दलका नेताहरूसँग बिहीबार भएको सघन छलफलपछि आज उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको हो।

भूतपूर्व राष्ट्रपति गोताबाया राजापाक्ष र रनिल विक्रमासिङ्घेको नेतृत्वमा उनले गृहमन्त्रीका रुपमा काम गरेका थिए।

आगामी बुधबार संसद् बैठकपछि राष्ट्रिय सरकार गठनका विषयमा छलफल हुने बताइएको छ। राजनीतिक दलहरू मिलेर राष्ट्रिय सरकार गठन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ।

यसैबीच, राष्ट्रपति सचिवालय बाहिर ठूलो सङ्ख्यामा उपस्थित प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न भारी मात्रामा सशस्त्र सुरक्षाकर्मी परिचालन गरिएको थियो।

उनीहरूले राष्ट्रपति विक्रमासिङ्घको विरोध गरिरहेका छन् । यहाँस्थित सरकार विरोधी प्रदर्शन शिविरमा सुरक्षाकर्मीले छापा मारेको थियो। रासस


प्रतिक्रिया दिनुहोस्