‘समाजवादी केन्द्र’ को खोलभित्र लुकेको स्वार्थ

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  १ : ५१


दैनिक अनलाइन । तत्कालिन नेकपा पार्टीका अधिकांस सचिवालय सदस्य अहिले आन्तरिक भेटघाटमा ब्यवस्त छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन प्रचण्ड निवासमा भेला भएर समाजबादी केन्द्र निर्माणको बारेमा छलफल गरेका छन् ।

प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्राईलाई समेत भेटेर यसबारे छलफल गरेका छन् । उनले तीन बाम पार्टीबीच एकता प्रस्ताव गरेका छन्। डा. बाबुराम भट्टराईलाई दोश्रो पटक बिहीबार भेटेका दाहालले जसपा, एकिकृत समाजवादी र माओवादीबीच एकता प्रस्ताव गरेका हुन् । प्रचण्डले एकता गर्दा नेकपा समाजवादी केन्द्र नाम राखेर जान सकिने प्रस्ताव पनि गरेका बताइएको छ ।
यसअघि पनि तत्कालिन नेकपाका सचिवालय सदस्यहरु एक ठाउँमा भेला गरेर वृहत् बाम एकताबारे छलफल गरेका थिए ।

सके बाम एकतालाई थप मजबुत बनाउने नसके पनि चुनावमा बामपन्थी, प्रगतिबादी मोर्चाहरु एक भएर जानु पर्ने विषयमा प्रचण्डको दौडधूप बढेको देखिन्छ । आगामी मंसिरमा हुने संघ र प्रदेशको चुनाव मिति नजिकिँदै गर्दा दाहालले यस्तो भेटघाट बढाउनुमा समाजवादी केन्द्र निर्माणभन्दा पनि स्वार्थ लुकेको पाइन्छ । भारत भ्रमण सकेर आएपछि त प्रचण्डको दौडधूत ह्वात्तै बढेको छ । यसले प्रचण्डमा अझै पनि सत्तामोह सकिएको छैन भन्ने पुष्टि गर्दछ । यता प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट दिनहूँ प्रहार भएका दाहाल कसरी हुन्छ एमालेलाई साइजमा राख्न यसखाले अभ्यास गरिरहेका छन् ।

किन प्रचण्ड यसरी दौडधूपमा लागे त ?

१० बर्ष युद्ध लडेर शान्ति सम्झ्यौतामा आइसकेपछि नेकपा माओवादी केन्द्र २०६४ सालको निर्वाचनमा पहिलो दल बन्यो । त्यसपछि भएका ७० को संविधान सभा निर्वाचन र २०७४ को निर्वाचनमा माओवादी तेश्रो दल बनेको थियो । पहिलो दल बनेका बेला प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने । त्यसपछि पनि उनी एक पटक प्रधानमन्त्री बनेका छन् । तर अहिले भने प्रचण्डको राजनैतिक साइज घटेको छ ।
प्रचण्डका जनयुद्धका सारथीहरु मोहन वैद्य, विप्लव, बादल, बाबुरामजस्ताले उनलाई छोडे । त्यसपछि प्रचण्ड निरन्तर कमजोर छन् । प्रचण्ड कमजोर रहनुमा उनले जनयुद्धका भावना, माक्र्ससवाद त्याग गर्दै जानु हो । अहिले प्रचण्ड पथ विलासी जीवनशैली र सदैव सत्ता मोहमा छ ।

आफू कमजोर भएपछि उनले २०७४ को निर्वाचन अघि एमालेसंग वाम एकता गरे । त्यसपछि बामपन्थीले करिब २ तिहाइ मत पायो । ५ बर्ष सरकार संचालन गर्ने अवसर उनले पाए । तर त्यो वामपन्थी पार्टीमा देखिएको तिक्तताले सरकारको आयु पनि साढे २ बर्षमा सकियो । वामपन्थी आपसमा लड्दाको फल अहिले काँग्रेसले खाइरहेको छ ।

चाहेर नचाहेर पनि अहिले प्रचण्ड देउवाको पुच्छर बन्नुको विकल्प छैन । तै पनि प्रचण्ड फेरि पनि राजनैतिक लाभ खोजिरहेका छन् । अझै पनि उनलाई सत्ताको केन्द्रमै रहन मन छ । सके आगामी चुनावमा बामपार्टी बनाएर चुनाव जित्ने र आगामी प्रधानमन्त्री बन्ने, नभए पनि कसरी हुन्छ तेश्रो दल बनेर महत्वपूर्ण मन्त्रालयहरु लिने उनको दाउपेच छ । त्यसैले उनी काँग्रेसलाई धम्क्याउन कहिले केपी शर्मा ओलीसंग, कहिले माधव नेपाल र अरु दलसंग उनको भेटघाट तीव्र छ । उनको आत्ममा समाजवादी केन्द्र निर्माण गर्ने हेतु छैन, केवल सत्ता स्वार्थ छ । त्यसैले उनले अहिले समाजवादी केन्द्रको नाटक मंचन गरिरहेका छन् ।यता समाजवादी केन्द्र निर्माणको दिसामा माधव नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल, बामदेव गौतम पनि रहेका देखिन्छन् । उनीहरुमा पनि सच्चा समाजवादी केन्द्र निर्माण गर्ने हेतु छैन ।

के चाहान्छन् माधव नेपाल ?

स्थानीय तहको निर्वाचनमा काँग्रेसले पेलर गएपछि कम सिट हासिल गरेको एकिकृत समाजवादी पार्टी पनि सत्ता गठबन्धनसंग त्यति खुसी छैन । काँग्रेसले थोरै सिट दिएर हेपेको अनुभुति छ । त्यसैले कम सिट पाएको खण्डमा मंसिरमा हुने चुनावमा काँग्रेस र माओवादीसंग मिलेर जाने पक्षमा अध्यक्ष माधव कुमार नेपाल छैनन् । त्यसैले काँग्रेसबाट धेरै सिट फुत्काउने कोसिस स्वरुप उनी पनि समाजवादी केन्द्र निर्माणको दुहाइ दिइरहेका छन् । यही अभिप्रायको खोलभित्र रहेर झलनाथले एमालेसंग एकता र चुनावी गठबन्धन गर्नु पर्ने बताइरहेका छन् भने माधव नेपालले काँग्रेस र माओवादीसंग बार्गेनिङ गरिरहेका छन् । यदि आगामी चुनावको लागि काँग्रेसले समाजवादीलाई सिट कम दिने हो भने उनीहरुले अर्को राजनैतिक समिकरण बनाउन सक्छन् ।

बाबुराम पनि अन्यौलमा

अर्कोतर्फ बाबुराम पनि अन्यौलमा छन् । अब उनको भविष्य पनि के हुने हो सायदैलाई थाहा होला । त्यसैले उनले समाजवादी केन्द्रमा जोड दिइरहेका छन् । झलनाथ खनाललाई पनि अब राष्ट्रपति बन्नु छ । त्यसैले कहिले प्रचण्ड र कहिले ओलीसंग उनले भेटघाट बढाइरहेका छन् । जनता समाजवादी पार्टीबाट कारबाहीमा परे पछि बाबुरामलाई पनि अब कि नयाँ पार्टी बनाउनु पर्ने ? कि त विचार मिल्नेसंग एकता गर्नुको विकल्प छैन । नयाँ पार्टी बनाएर अब बाबुरामले पार पाउलान् भन्न सकिन्न । उनी पटकपटक असफल भइसकेका छन् । प्रचण्ड नजिक भएका बेला पार्टी एकता गराउन सके उनला्रई अलिकति राहत भने हुन सक्छ । आगामी चुनावमा गोर्खाबाट उनको सिट सुरक्षित हुन सक्छ ।

असुरक्षित बामदेव 

नेपाल कम्युनिष्ट पार्टी (राष्ट्रिय एकता अभियान) का संयोज बामदेव गौतम पनि छट्पटिएका छन् । बिभिन्न समुह बनाएर एकता अभियान सुरु गरेका उनलाई स्वयम् अरु घटकले अभियानबाट निकालेपछि उनको नीद्रा हराम भएको छ । त्यसैले बामदेव अहिले सबैभन्दा बढी असुरक्षित छन् । न एमाले, न समाजवादी कतै पनि उनलाई स्पेस छैन । उनमा पनि प्रधानमन्त्रीको आकांक्षा अझै छ, तर त्यो अब दीवा स्वप्ना मात्र हो । त्यसैले उनी पनि अब जता शक्ति आर्जन गर्न सकिन्छ उतैसंग हिमचिम बढाइरहेका छन् । कहिले एमाले अध्यक्ष ओलीसंग, कहिले माधव नेपालसंग, कहिले प्रचण्डसंग उनको भेटघाटले तीव्रता पाइरहनुमा त्यही मक्सत लुकको छ । आफू मात्र होेइन उनी अब आफ्नी श्रीमतीको पनि राजनैतिक संरक्षण खोजिरहेका छन् । उनले आफू जे भए पनि श्रीमतीलाई मन्त्री र सांसद जसले बनाउने ललिपप दिन्छन् त्यति मोडिने छन् ।

यस कारण स्वार्थी समिकरण

समाजवादका आधारभूत मान्यता र दर्शनबाट च्यूत भएर स्वार्थको लागि समाजवादी केन्द्र निर्माण गर्न खोज्नु आफैमा हास्यास्पद छ । यदि सत्ता स्वार्थ थिएन भने उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीबाट बिभक्त भएका मोहन वैद्य, बादल, विप्लव र अरु कम्युनिष्ट मोर्चासंग पनि छलफल गर्न सक्थे । तर त्यो गरेको पाइँदैन । त्यसैले यो समाजवादी केन्द्र निर्माण गर्ने बाटो नभएर सत्ता र स्वार्थको बाटो हो ।
अर्कोतर्फ नेकपाका बहुमत सचिवालय सदस्य एमालेसंग रुष्ट छन् । काँग्रेसलाई सत्ताको चावी दिएर भए पनि उनीहरु एमाले ठुलो पार्टी भएको चाहादैनन् । उनीहरुलाई जसरी पनि आगामी निर्वाचनमा एमालेलाई पत्तासाफ गर्नु छ , त्यसको लागि काँग्रेसको वैशाखी बन्न प्रचण्डहरुलाई लाजसरम छैन । त्यसकारण यो समाजवादी केन्द्र बनाउने अभियान केवल हात्तीको देखाउने दाँत मात्र हो । चुनावी मुखमा गरिएको समाजवादी केन्द्र निर्माणले नत जनतालाई हित गर्ने छ न त राष्ट्रको उन्नति नै । यसले फाइदा दिने छ भने केवल ती नेता र ब्यक्तिलाई नै दिने हुन सक्छ ।

समाजवाद

“समाजवाद“ एउटा यस्तो आर्थिक ब्यवस्था हो जहाँ देशको सम्पूर्र्ण अर्थतन्त्रको स्वामित्व पुर्णतया सरकारमा निहित हुन्छ । जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ। यस्तो आर्थिक राजनीतिक ब्यबस्था अंगिकार गर्ने र त्यही अनुसारको जीवन शैली बनाउने नेता मात्र सच्चा कम्युनिष् हुन सक्छन् र तिनैबाट मुलुकमा समाजवाद आउने हो । तर यसखाले एउटा गुण पनि हाम्रा कम्युनिष्ट नेतामा छैन । बस्तुको उत्पादनको स्वामित्व नियन्त्रण र व्यवस्थापन गर्नेमा जतिपटक सरकारमा भए पनि यिनीहरुको ध्यान गए । कम्युनिष्ट नेताको आचरणको कारण आज विश्वबाट कम्युनिजम आउट हुने अवस्थामा छ । विश्वका १ सय ९४ मुलुकमध्ये चीन, क्युवा, लाओस, भियतनाम र उत्तर कोरियामा मात्र कम्युनिजम र समाजवाद छ । चीन पनि अहिले पुँजीबादतर्फ फर्केको अवस्था छ ।

तर हाम्रो त्यो अवस्था छैन । कम्युनिष्टहरुको आपसी झगडाले गर्दा पाएको करिब दुईतिहाइबाट च्यूत भएर पुँजिवादीको हातमा सत्ताको बागडोर दिन सफल भएका छन् । कम्युनिष्टहरु टुटफुटमा रमाए । सत्तालिप्सा, भ्रष्टाचार, कमिसनखोरमा उनीहरु जुका टाँसिएझैँ गरी टाँसिरहे बषौँसम्म । जनता भोकभोकै मरे पनि कम्युनिष्टको खोल ओढेकाहरुको सुख सयलमा कहिल्यै कमि आएन । त्यसैले यस्तो जीवन शैलीमा पौडिरहेकाहरुले अब समाजवादी केन्द्र निर्माण गर्लान् भन्नु श्वैरकल्पना शिवाय केही हुँदैन ।

यसरी सम्भव छ समाजवादी केन्द्र

यदि त्यो होइन, साँच्चिकै समाजवादी केन्द्र निर्माण गर्नै लागेका हुन् भने उनीहरुले पहिला देशमा गरेको गद्धारी धोकाधडीको जनतासंग गएर माफी माग्नु पर्दछ । आजसम्म भ्रष्टाचार गरेर जम्मा गरेको अकुत सम्पत्ति सार्वजनिक गर्नुपर्दछ । ब्यक्तिगत नीजि सम्पत्ति राष्ट्रियकरण गर्नुपर्दछ । उनीहरुको महंगो जीवनशैलीमा परिवर्तन आउनु पर्दछ । यदि यसो गरेर उनीहरुले समाजवादी केन्द्र निर्माण गर्न लाग्दछन् भने राज्य र जनताले खोजेको पनि यही हो । यो स्विकार्य हुने छ ।

 


प्रतिक्रिया दिनुहोस्