मुस्लिम धर्मगुरु विवादः नुपुर शर्माको हत्या गर्न पाकिस्तानबाट भारत आए यी व्यक्ति!

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ४ : १५


काठमाडौं। भारतमा केही महिनादेखि मुस्लिम र हिन्दु समुदायबीच किचलो सुरु भएको छ।

भाजपाबाट निलम्बित प्रवक्ता नुपुर शर्माले इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेपछि विवाद सुरु भएको हो। शर्माको टिप्पणीले इश्वरनिन्दाको पराकाष्ठा नाघेको भन्दै विश्वभरका मुस्लिम देशले विरोध जनाएका थिए।

त्यसपछि उनलाई पार्टीबाट निष्काशित गरिएको थियो। सो घटनापछि विवादित बनेकी शर्माकै कारण रुष्ट बनेका दुई मुस्लिम समुदायका युवाले हालै एक हिन्दु समुदायका नागरिकको हत्या गरेका थिए।

मुस्लिम धर्मगुरुबारे विवादस्पद टिप्पणी गरेको भन्दै विश्वभरका मुस्लिम राष्ट्र रुष्ट बन्दा पाकिस्तान पनि भड्किएको थियो। यस क्रममा भारतीय प्रहरीका अनुसार पाकिस्तानबाट भारत अवैध रुपमा आएका एक व्यक्ति गिरफ्तार भएका छन् जो यही मुद्दासँग सम्बन्धित छन्।

राजस्थान प्रहरीले मंगलबार मात्र रिजवान असरफ पुत्र मोहम्मद असरफलाई सार्वजनिक गर्दै उनको उद्देश्य नुपुर शर्माको हत्या गर्नु रहेको जनाएको छ। यसै महिनाको १६ तारिख रातिको समयमा उनी सीमा पार गरेर भारत घुस्दैगर्दा पक्राउ परेका हुन्।

२४ वर्षका उनको पाकिस्तान कुटियाल शेखा स्थायी घर हो। उनको साथबाट मुस्लिम धार्मिक किताब र दुई चक्कु फेला परेको छ।

उनले नुपुर शर्मालाई सजाय दिन आफू भारत आएको प्रहरी समक्ष बताएको बीबीसीहिन्दीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्