राष्ट्रपति देश छाडेर भागेपछि आर्थिक संकटले ग्रस्त श्रीलंकामा आज नयाँ राष्ट्रपतिको निर्वाचन

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : ३९


कोलम्बो। श्रीलंकाको संसदले आज बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान गर्दै छ।

आक्रोशित प्रदर्शनकारीहरू निवासमा प्रवेश गरेपछि विदेश भागेर उतैबाट राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदै छ।

राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभुतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ। श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन्।

अभूतपूर्व आर्थिक संकटका कारण महिनौंदेखिको प्रदर्शनपछि राजापाक्षेलाई सेनाले उद्धार गरेर अज्ञात स्थल लगेको थियो। उनी माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए। सिंगापुर सरकारले राजापाक्षेलाई शरण नदिएको बरु उनी निजी भ्रमणका क्रममा त्यहाँ आएको बताएका छन्।

आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन्। वर्तमान प्रधानमन्त्री तथा कार्यकारी राष्ट्रपति रनिल विक्रमासिंघे, विपक्षी पार्टीका मुख्य नता साजिथ प्रेमादशा र पूर्व पत्रकार दुलास अलहम्मरउमा उम्मेदवार छन्।


प्रतिक्रिया दिनुहोस्