काठमाडौं। अभिनेता प्रदीप खड्का अभिनीत दुई चलचित्र ‘प्रकाश’ र ‘प्रेमगीत ३’ यसै वर्ष महिना दिनको अन्तरालमा प्रदर्शन हुँदैछन्।
आगामी भदौ १० गतेबाट ‘प्रकाश’ र असोज ७ गतेबाट ‘प्रेमगीत ३’ प्रदर्शनको तयारीमा छन्।
‘प्रकाश’मा गाउँले युवक बनेका उनी ‘प्रेमगीत ३’मा भने रोमान्टिक अवतारमा प्रस्तुत हुँदैछन्।
यतिबेला ‘प्रकाश’को प्रचारमा दौडिरहेका प्रदीपले यो फिल्म आफ्ना अघिल्ला ७ वटा फिल्मभन्दा कमाईका हिसाबमा अगाडि हुने बताएका छन्।
त्यस्तै, उनले ‘कबड्डी ४’को रेकर्ड ‘प्रेमगीत ३’ले तोड्ने पनि दाबी गरेका छन्। उनले भनेका छन्, ‘मेरो विचारमा मैले यसअघि गरेका ७ फिल्ममध्ये ग्रसमा ‘प्रकाश’ले हाइएस्ट गर्छ। इन्डस्ट्रीको कुरा गर्ने हो भने ‘कबड्डी ४’को रेकर्ड ‘प्रेमगीत ३’ले ब्रेक गर्छ।’
कबड्डी ४ चलचित्रले ५१ दिनमा २२ करोड ग्रस कमाइसकेको छ। यो चलचित्र नेपालमा सबैभन्दा बढी कमाई गर्ने चलचित्र हो।