बेलायतमा अत्यधिक गर्मीः तातो मौसमले धावनमार्ग पग्लिएपछि उडान स्थगित!

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ११ : ३०


लन्डन। बेलायतमा अत्यधिक मात्रामा गर्मी बढेको छ। हिजो सोमबार तातो मौसमकै कारण लन्डनको धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएको सीएनएनले जनाएको छ।

रोयल एयर फोर्स आरएएफले अक्सफोर्डसायर नजिकैको ब्रिज नोर्टन बेसभित्र र बाहिरका उडानहरू स्थगित गरेको हो।

चरम गर्मीको कारणले रनवे पग्लिरहेको स्काई न्यूजले पनि उल्लेख गरेको छ।

सोमबार लन्डनको लुटन विमानस्थलले पनि पनि धावनमार्ग पग्लिएपछि सबै उडानहरू रोकेको थियो। इजीजेट र रायनएयरलगायतका एयरलाइन्सले प्रयोग गर्ने अन्तर्राष्ट्रिय विमानस्थलले गर्मीका कारण उडान स्थगित भएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन्।

लन्डनमा ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन रेकर्ड भएको छ। मौसमविद्हरूले मंगलबार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन्।

अत्यधिक गर्मीकै कारण त्यहाँका केही विद्यालय बन्द गरिएका छन्। यद्यपि, सरकारले विद्यालय ठप्प नगर्न अनुरोध गरेको छ। तापक्रम बढेपछि मौसम विभागले पहिलोपटक रातो चेतावनी जारी गरेको छ।


प्रतिक्रिया दिनुहोस्