रुसले स्वतन्त्र घोषणा गरेको युक्रेनको लुहान्स्क र डोनेट्स्कलाई किम जोङले दिए मान्यता

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  २ : ३०


काठमाडौं। रुसले लुहान्स्क र डोनेट्स्क क्षेत्रलाई स्वतन्त्र राज्य भएको घोषणा गर्दै गत फेब्रुअरी २४ यता लगातार युक्रेनमा आक्रमण जारी राखेको छ।

सो आक्रमण पाचौं महिनामा प्रवेश गर्दैगर्दा रुस र युक्रेन पक्षका हजारौं सेना तथा सर्वसाधारण मारिएका छन्। यद्यपी युद्ध रोकिएको छैन।

तर रुसले युक्रेनमा आफूले आक्रमण गरेको स्वीकार्दैन। उसले त्यहाँ युद्ध नभएर सैन्य अभियान मात्र संचालन गरेको बताउने गर्दछ। रुसले युक्रेनको लुहान्स्क र डोनेट्स्क क्षेत्रलाई स्वतन्त्र राज्य घोषण गर्न अगाडि नै युक्रेनको क्राइमिया क्षेत्र भने कब्जा गरिसकेको थियो।

रुसको नजरमा अब लुहान्स्क र डोनेट्स्क स्वतन्त्र राज्य हुन्। तर पश्चिमा मुलुकहरु रुसी भनाइ स्वीकार्दैनन्। उनीहरुले युक्रेनलाई रुसविरुद्धको युद्धमा हतियार दिइरहेका छन्।

यद्यपी यतिबेला उत्तर कोरियाले ती क्षेत्रहरुलाई स्वतन्त्र क्षेत्रको मान्यता दिएको छ। रुसको निर्णयलाई सही भन्ने उत्तर कोरिया पहिलो राष्ट्र हो। उत्तर कोरियाको समर्थनले रुस खुशी बनेको छ।

उत्तर कोरियाका लागि रुसी राजदूत अलेकजेन्डर मात्सेगारोले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले डोनेट्स्क र लुहान्स्कलाई मान्यता दिएको पुष्टि गरेका हुन्।

रुसी सरकारी समाचार संस्था ताससँगको अन्तवार्तामा अलेकजेन्डरले उत्तर कोरियाले लुहान्स्क र डोनेट्स्कलाई मान्यता दिएको बताउँदै भने, ‘क्राइमियालाई रुसी हिस्साको रुपमा स्वीकार गर्दा हामीबाट उत्तर कोरियाले केही पाएको थिएन। संयुक्त राष्ट्रसंघ अथवा कुनैपनि अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो पक्षमा भोट गर्दा पनि उत्तरले केही फाइदा पाएको थिएन। उत्तर कोरिया डोनबासको युद्धलाई पनि जायज ठान्दछ। उत्तरका अनुसार जेलेन्स्कीको सरकार केही होइन अमेरिकाको कठपुतली मात्र हो।’

उनका अनुसार उत्तर कोरियालाई जे सही लाग्छ उसले त्यसलाई ठिक भन्छ। उत्तर कोरियाको प्रशंसा गर्दै अलेकजेन्डर भन्छन्,‘उत्तर कोरिया विश्वका थोरै देशहरू मध्ये एक हो जोसँग पूर्ण रूपमा स्वतन्त्र विदेश नीति अपनाउने क्षमता छ।’

उत्तर कोरियाले रुसको पक्षपोषण गर्दै लुहान्स्क र डोनेट्स्क क्षेत्रलाई स्वतन्त्र क्षेत्रको मान्यता दिएपछि युक्रेन पक्कै खुशी छैन किनभने हाल रुस र युक्रेनबीचको शान्तिवार्ता नमिल्नुमा युक्रेन ती क्षेत्रहरुलाई रुसको भएको देख्न चाहँदैन।

सोही सर्त युक्रेनले नमान्दा यतिबेलासम्म युद्ध रोक्ने सहमती हुन नसकेको हो।

यसक्रममा रुसले युक्रेनमा आक्रमण गरेको नभएर विशेष सैन्य अभियान संचालन गरेको दोहोर्याउँदै आएको छ। यस द्वन्द्वमा हजारौं युक्रेनी नागरिक मारिएका छन्। रुसले मानवीय बस्ती तथा आवसीय भवनमै मिसाइलहरु हानेको खबर आएका छन्।

तर रुसले आफूलाई सुरक्षित राख्नको लागि भएपनि आक्रमण जायज भएको बताउँछ। युक्रेनले पश्चिमा राष्ट्रहरुको सैन्य गठबन्धन नेटोमा आवद्ध हुन चाहेपछि रुसले सशंकित हुँदै युक्रेनमा विभिन्न बहाना बनाएर आक्रमण थालेको हो जुन रोकिने छाँटकाँट देखिएको छैन।

पश्चिमा राष्ट्रहरुले लगातार हतियार दिएपछि सो युद्ध लम्बिदै गइरहेको छ।


प्रतिक्रिया दिनुहोस्