ब्याटिङमा चुकेको नेपालले स्कटल्यान्डलाई दियो १२९ रनको लक्ष्य

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : ४६


काठमाण्डौँ । ब्याटिङमा चुक्दा नेपालले आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा ठुलो स्कोर बनाउन असफल भएको छ । टस हारेर ब्याटिङ थालेको नेपालले स्कटल्याण्डलाई जम्मा १२९ रनको चुनौति पेश गर्ने क्रममा बयाट्समेनहरु सस्तैमा समेटिन पुगेका हुन् ।

ब्याट्सम्यानहरु सस्तैमा समेटिँदा नेपालले ५० ओभरको खेलमा ३५.५ ओभर खेल्दै १२८ रनमात्र जोड्न सक्यो। ओपनर कुशल भुर्तेलले १६ बल खेलेर ३ रनमात्र बटुले भने आसिफ शेखले ५८ बल खेल्दै सर्वाधिक ४० रनको योगदान गरे।

त्यसपछि देव खनाल २५ बल खेल्दै १० रन मात्र बनाएर आउट रहँदा रोहित पौडेलको पनि ब्याटिङ चलेन। पौडेल १६ बलमा १० रन बटुल्दै आउट हुन पुगे। दीपेन्द्र सिंह ऐरीले पनि आज १३ बलमा ७ रनमात्रै बटुले। आरिफ शेख २ बल खेल्दै शून्य रनमा आउट हुँदा विनोद भण्डारीले २१ बल खेली १३ रनको योगदान गरे।

सोमपाल कामीले २४ बल खेलेर ७, करण केसीले ४ बल खेलेर ७ रन बनाए। कप्तान सन्दीप लामिछानेले भने दोस्रो सर्वाधिक रन बनाउने क्रममा २७ बल खेलेर २२ रन बटुले। किशोर महतोले ९ बल खेले पनि रन लिन सकेनन्। स्कटल्यान्डले ९ अतिरिक्त रन उपहार दिएको थियो।

स्कटल्यान्डको बलिङ जमेको थियो। उसका चार बलरले मेडन ओभर बलिङ गरेका थिए। साफ्यान शरिफले २ मेडन ओभर बलिङ गरेका थिए। उनले विकेट लिन सकेनन्। मार्क वाटले ८ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन दिएर ३ विकेट झारे। हाम्जा ताहिरले १ मेडनसहित २६ रन दिएर ४ विकेट झार्दा गाभिन मेनले ७ ओभरमा १ मेडनसहित ४४ रन दिएर २ विकेट लिए। क्रिस्टोफर म्याकब्राइडले ६ ओभर बलिङ गरी २६ रन दिएर १ विकेट झारे। स्कटल्यान्डले केही बेरमा जवाफी ब्याटिङ गर्दै छ।


प्रतिक्रिया दिनुहोस्