कोरोनाका कारण हुन नसकेको बोलबम मेला यसवर्ष हुने

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  २ : ३४


कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको बोलबम मेला यसवर्ष हुने भएको छ। देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा पुर्याइएको छ। चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार उत्सवका रुपमा मनाइने बोलबम मेलाका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले देवघाट क्षेत्रलाई उज्यालो पारिएको बताए।

“भक्तजन धेरै आउने भएकाले स्नान क्षेत्र तथा भक्तजन बस्ने ठाउँलाई उज्यालो बनाउन बत्ती जडान गरेका छौँ”, उनले भने। बोलबम मेला अवधिमा करिब एक लाख ५० हजार भक्तजन आउने अनुमान गरिएको छ। मेला भर्न अन्य सोमबार २० हजार हाराहारी र अन्तिम सोमबार ५० हजारभन्दा बढी भक्तजन आउने कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए।

घिमिरेले भक्तजनको सुरक्षाका लागि चितवन र तनहुँ प्रशासन तथा प्रहरीसँग समन्वय गरिएको बताए। स्नान क्षेत्रमा उद्वारका लागि बोटे समाज, शसस्त्र र नेपाली सेनाका उद्वारक टोली परिचालन गरिने छ। स्नान गर्ने ठाउँमा डुङगा र तालिम प्राप्त सुरक्षाकर्मी तैनाथ गरिने छ।

देवघाट क्षेत्र विकास समितिले चितवन र तनहुँतर्फ राखेका सचिवालयबाट जनचेतनामूलक जानकारी तथा सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ। सोमबार बिहानै स्नान गर्नका लागि आइतबार साँझ देवघाट जाने भक्तजनलाई गलेश्वर, हरिहर, महेश आश्रमलगायतका आश्रम तथा मन्दिरले निःशुल्क खाना तथा बसोबासको व्यवस्था मिलाएको छ।

सोमबार हुनसक्ने भीडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले जाने–आउने रुट निर्धारण गरेको छ। आँपटारी हुँदै देवघाट जाने सडकमा स्नान गरेका भक्तजनलाई मात्रै फर्किन मिल्ने गरी रुट निर्धारण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिए।

मेलामा सहभागी हुन रामनगर र ठिमुराहुँदै देवघाट पुग्ने सडक प्रयोग गर्ने व्यवस्था मिलाइएको उनले बताए। काठमाडौं, पोखरा हुँदै आउने भक्तजन दासढुङगा पुल प्रयोग गरेर तनहुँतर्फको देवघाट पुग्न सक्नेछन्। देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेलले सीताराम माविको खेलमैदान र नजिकैको सतनचुली सामुदायिक वन क्षेत्रको चौरमा पार्कीङस्थल निर्धारण गरिएको बताए।

क्षेत्र विकास समितिले सडकको दायाँबायाँ फुटपाथ पसल नराख्न आग्रह गरेको छ। चितवन र तनहुँ जोड्ने झोलुङगे पुलमा एक पटकमा एक सय बढी भक्तजन ओहरदोहर नगर्न सुझाइएको छ। साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ। साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ। यसवर्ष साउनमा पाँच सोमबार परेकाले धेरै भक्तजन आउने अनुमान गरिएको छ। रासस


प्रतिक्रिया दिनुहोस्