अन्तरिम राष्ट्रपतिको शपथ लिएपछि विक्रमासिंघेले भनेः अब राष्ट्रपतिलाई ‘महामहिम’ भन्नु पर्दैन

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ४ : १७


काठमाडांैं। श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले अन्तरिम राष्ट्रपतिको रुपमा पद तथा गोपनियताको शपथ लिएका छन्।

बिहीबार राति देश छाडेर भागेका गोटाबाया राजापाक्षेले राजिनामा दिएपछि विक्रमासिंघे अन्तरिम राष्ट्रपति घोषित भएका हुन्।

उनलाई शुक्रबार देशका मुख्य न्यायाधीशले शपथ दिलाए। अन्तरिम राष्ट्रपतिको शपथ खाएसँगै उनले दुई महत्वपूर्ण निर्णय पनि गरे।

उनले अबदेखि राष्ट्रपतिलाई ‘महामहिम’ शब्दले सम्बोधन गर्नबाट प्रतिबन्ध लगाए भने राष्ट्रपतिको लागि प्रयोग गरिने विशेष झण्डालाई पनि खारेज गरे।

यसैबीच श्रीलंकामा भोलि शनिबार संसद बैठक ठाकिएको छ। वैठकले श्रीलंकाको नयाँ राष्ट्रपति चयनको प्रक्रिया अगाडि बढाउनेछ।

चरम आर्थिक संकट निम्तिएसँगै महँगी बढेपछि र आवश्यक सामग्रीहरु अभाव भएपछि श्रीलंकाली जनताहरु देशव्यापी आन्दोलनमा उत्रिएका थिए।

पछिल्ला दिनहरुमा देशका शीर्ष नेताहरु प्रदर्शनकारीको त्रासका कारण देश छाड्दैछन्। प्रदर्शनकारीले राष्ट्रपति भवन र प्रधानमन्त्रीको निवास कब्जा गरेका थिए।

राजापाक्षेको राजिनामासँगै देशभर प्रदर्शनकारीले खुशी व्यक्त गरेर उत्सव मनाएका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्