रुसले ३ मिसाइल हान्दा भिनित्सियामा २३ जनाको मृत्यु, पुटिन आतंकवादी भएको युक्रेनको भनाइ

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ११ : २८


काठमाडौं। रुसी क्षेप्यास्त्र प्रहारबाट युक्रेनको मध्य भागमा रहेको सहर भिनित्सियामा तीन बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

बिहीबार राजधानी किएभको दक्षिण-पश्चिम र द्वन्द्वको अग्रमोर्चाबाट टाढा रहेको उक्त सहरमा आक्रमण हुँदा थप ९० जना घाइते भएका छन्।

तीनवटा रुसी क्षेप्यास्त्र प्रहार हुँदा कार्यालयहरूका लागि प्रयोग हुने र आवासीय भवनमा क्षति पुगेको बताइएको छ।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त कार्यलाई “खुलमखुला गरिएको आतङ्कवादी कार्य” भनेका छन्।

युक्रेनी आपत्कालीन सेवाका अनुसार क्षेप्यास्त्र उक्त कार्यालयहरू भएको भवनको कार पार्किङस्थलमा स्थानीय समय अनुसार करिब १०:५० मा प्रहार भएको थियो।

उक्त आक्रमणमा परेर करिब तीन लाख ७० हजार जनसङ्ख्या भएको भिनित्सियाको केन्द्रका आवासीय भवनहरू पनि प्रभावित भएका छन्।

रुसी रक्षा मन्त्रालयले सर्वसाधारणलाई निशाना बनाएको अस्वीकार गर्दै आएको छ तर उक्त घटनाबारे हालसम्म टिप्पणी गरेको छैन।

युक्रेनी राष्ट्रपति कार्यालयले उक्त आक्रमण ब्ल्याक सीमा रहेको पनडुब्बीबाट कालिब्र क्रुज क्षेप्यास्त्र प्रहार गर्ने यन्त्रबाट भएको बताएको छ।

आपत्कालीन सेवाका एकजना वरिष्ठ क्षेत्रीय अधिकारीले स्थानीय टेलिभिजनलाई आक्रमणमा परेकामध्ये कोही पनि “जीवित फेला पर्ने सम्भावना नभएको” बताए।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “हरेक दिन रुसले नागरिकहरूलाई मार्छ, युक्रेनी बालबालिकालाई मार्छ, कुनै सैन्य लक्ष्य नभएका नागरिकले प्रयोग गर्ने सेवासुविधाहरूमा क्षेप्यास्त्र आक्रमण गर्छ। यो आतङ्कवादको खुला कार्य होइन भने के हो?”

रुसी युद्ध अपराधसम्बन्धी एउटा सम्मेलनका लागि द हेगमा युरोपेली सङ्घका विदेश तथा न्याय मन्त्रीहरूले भेट्न लागेका बेला उक्त आक्रमण भएको हो।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले भिनित्सियामा आक्रमण गरेर “अर्को युद्ध अपराध” गरेको आरोप लगाए।

उनले लेखेका छन्, “हामी युक्रेनीका रगत र आँसुका प्रत्येक थोपाका लागि रुसी युद्ध अपराधीहरूलाई मुद्दा दायर गर्नेछौँ।”


प्रतिक्रिया दिनुहोस्