देश छाडेर भाग्ने श्रीलंकाली राष्ट्रपतिको राजिनामा स्वीकृत, बोलाइयो संसद बैठक

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : ५०


काठमाडौं। श्रीलंका छाडेर माल्दिभ्स हुँदै सिंगापुर पुगेका राष्ट्रपति गोटाबाया राजापाक्षेको राजिनामा स्वीकृत भएको छ।

संसदका सभामुख यापा अभयवर्धनाले राजापाक्षेले इमेलमार्फत् बिहीबार पठाएको राजिनामा स्वीकृत भएको बताएका हुन्। उनका अनुसार अब देशका प्रधानमन्त्री रनिल विक्रमासिंघे देशका अन्तरिम राष्ट्रपति हुनेछन्।

अन्तरिम राष्ट्रपतिको रुपमा विक्रमासिंघेले आजै सपथ लिने बीबीसीले जनाएको छ। अब भोलि शनिबार संसद बैठक ठाकिएको छ। वैठकले श्रीलंकाको नयाँ राष्ट्रपति चयनको प्रक्रिया अगाडि बढाउनेछ।

चरम आर्थिक संकट निम्तिएसँगै महँगी बढेपछि र आवश्यक सामग्रीहरु अभाव भएपछि श्रीलंकाली जनताहरु देशव्यापी आन्दोलनमा उत्रिएका थिए।

पछिल्ला दिनहरुमा देशका शीर्ष नेताहरु प्रदर्शनकारीको त्रासका कारण देश छाड्दैछन्। प्रदर्शनकारीले राष्ट्रपति भवन र प्रधानमन्त्रीको निवास कब्जा गरेका थिए।

राजापाक्षेको राजिनामासँगै देशभर प्रदर्शनकारीले खुशी व्यक्त गरेर उत्सव मनाएका छन्।


प्रतिक्रिया दिनुहोस्