ओली र बालेनको मिल्दो केमिस्ट्री, एमाले प्रवेश गर्न लागेका हुन त ?

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ५ : ४६


काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाका बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसंग दुई पटक भेट गरे । स्वतन्त्र तर्फबाट एमालेकै केशव स्थापित र काँग्रेसकी सिर्जना सिंहलाई हराएका उनले प्रमुख दलका शीर्ष नेता, पूर्व प्रधानमन्त्रीहरु, नेपालीका सेनाका प्रमुख, कलाकारलाई भेट गरी नयाँ सन्देश दिन खोजे । उनले आफ्नो भेटलाई निरन्तर जारी राखेका छन् ।

यसै सन्दर्भमा नगरप्रमुख जितिसकेपछि सपथ ग्रहण गरेर ओलीलाई भेटेका बालेन्द्र शाहले फेरि बुधबार पनि ओलीलाई भेट गरेका छन् । पहिलो भेटमा बालकोटबाट रित्तो हात फर्केका उनले दोश्रो भेटमा उपहार स्वरुप ‘तबला’ पाए, त्यो पनि एमाले अध्यक्ष ओलीको हातबाट । नेपाली राजनीतिका चतुर खेलाडी ओलीले बालेनलाई किन तबला दिए ? यो अहिले चर्चाको विषय बनेको छ । ओलीले बालेनलाई तबला दिनुमा सांगितिक अर्थ पनि हुन सक्छ । ओली नेता हुन् नै तथापी उनमा संगितप्रतिको रुची पनि छ । कहिले बाँसुरी कहिले तबला र कहिले के बजाृने उनको स्वभाव बालेनसंग मिल्छ । त्यसकारण प्रेरणा प्रदान गर्न पनि ओलीले बालेनलाई तबला दिएका होलान् । यो भन्दा पनि यसलाई राजनैतिक रुपमै बढी हेरिएको छ ।

कतिपयले यसलाई साधारण तरिकाले हेरेका छन् भने कतिपयले बालेनलाई एमाले प्रवेश गराउने रणनीति, ओली र बालेनको निकटता आदिसंग जोडेका छन् । कतिपयले त अब बालेन एमालमा प्रवेशको तयारी गरिरहेको रुपमा यस भेटलाई लिएका छन् । यहाँ एमाले र बोलनबीच पछिल्लो समय किन दुरी नजिक हँदै छ भन्ने बारेमा केही विश्लेषण गरिएको छ ।

चुनाव अघि बालेनको जुन चर्चा र प्रसिद्ध थियो, अहिले त्यो छैन । बालेनलाई ‘भगवान’ र कलिउड/ बलिउडका ‘हिरो’जस्तो सेलिब्रेटी मानिन्थ्यो केही समय अघिसम्म । तर त्यो पनि घट्दो छ । सडकपेटीबाट सर्वसाधारणलाई उठाउने, एउटा मकै मजदुरलाई लछारपछार गर्ने, महानगरको बजेटबाट स्वर्गिय यमोबुद्धको शालिक बनाउने, इ–स्पोट्सलाई १ करोड दिने लगायतका निर्णयका कारण उनी बिबादमा तानिएका छन् । उनलाई मत हालेका सामान्य ब्यक्ति, बुद्धिजिवी सबैले बालेनले गति विगार्न थालेको भन्दै चिन्ता प्रकट गर्न थालेका छन् । तर यो विचमा बालेनको पार्टी प्रवेशको हल्ला पनि उत्तिकै चल्न थालेको छ । जुन घटनाक्रमले पुष्टि गर्दछ ।

यमोबुद्धको शालिक निर्माण गर्ने उद्घोषको चौतर्फी विरोध हुँदा मुलुकको प्रमुख राजनैतिक शक्ति एमालेले भने बालेनको त्यो निर्णयको स्वागत गरेको छ । मेयर शाहको निर्णयको स्वागत गर्ने पहिलो राजनैतिक दल एमाले नै बन्यो । तर एमालेले यो निर्णय एउटा पृष्ठभूमिभित्र गरेकाले बजार तात्न थालेको छ । र, बिभिन्न अड्कलबाजी सुरु भएका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले ¥यापर यम बुद्ध (अनिल अधिकारी) को सालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णयको विहिबार स्वागत गरे । संघीय लोकतान्त्रिक गणतन्त्र समाजमा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने प्रणाली भएको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको बताए । उपाध्यक्ष पौडेलले ट्विटरमा लेखेका छन्, ’संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’

एमाले उपाध्यक्षको यो समयको भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यमोबुद्धको शालिक बनाउने निर्णयले बालेनको चर्को आलोचना हुँदासम्म एमाले किन बोलेन ? ओलीसंग भेट हुँदाको अर्को दिन नै विष्णु पौडेलले बालेनको कदम स्वागत योग्य छ भन्नुको तात्पर्य के ? यस्तै प्रश्न आउन थालेका छन् । ओली र बालेनबीचको भेटमा केही रहस्य रहेकै कारण एमालेले ढिलो गरी बालेनको कदमको स्वागत गरेको अनुमान गर्न सकिन्छ । ओलीले बालेनलाई तबला उपहार दिनुमा पनि केही रहस्य रहेको अर्कोतर्फबाट अनुमान लगाउन सकिन्छ ।

यता फोहरको मुद्धा बोकेर मेयर जितेका बालेनले भनेजस्तो काम गर्न भने सकेका छैनन् । ‘मलाई काम गर्न दिनू’ भनेर उनले फेसबुकमै लेख्न पर्ने स्थिति आयो । हुन पनि उनलाई अहिले काम गर्न निकै समस्या भएको बुझ्न सकिन्छ । कार्यपालिका सदस्यले पनि उनलाई भरपुर साथ दिएका छैनन् । त्यसकारण पनि बालेनले पछिल्लो समय पार्टीतर्फ ध्यान लैजान थालेका कतिपय बताउँछन् । विशेष श्रोतका अनुसार उनी कुन पार्टी छान्ने दोधारमा छन् । ‘मन’ पार्टी प्रवेश गर्ने भए पनि मतदाताको भावनामा चोट पर्ने भएको हुनाले उनले अहिल्यै यो बाटो लिन नसकेको बताइन्छ । तर ढिलोचाँडो उनले कुनै दल रोज्न सक्ने भनेर कुराहरु आउन थालेको छ ।

बालेन कुन पार्टीमा जान्छन् या उनी स्वतन्त्र नै रहन्छन् त्यो पछि घटनाक्रमले बताउला तर बालेन एमालेप्रति नजिकिएका हुन् कि भन्ने आसंका गर्न सकिन्छ । त्यसका लागि बिभिन्न घटनाक्रम प्रमाणका रुपमा रहन सक्छन् ।
अर्को एमालेबाट उपमेयरमा चुनिएको ३ महिना वितिसक्दासम्म पनि सुनिता डंगोलले कहिल्यै पनि बालेनमाथि असहयोगको भाव राखेको पाइन्न । हरेक काममा सुनिताले बालेनलाई साथ दिँदै आएकी छन् । कुनै पनि कार्यक्रममा उनीहरु प्रायः संगै हिँड्छन् पनि । कार्यपालिका वैठकमा बालेनप्रति झोँक्किएका वडा अध्यक्षहरुलाई सुनिताले ‘कन्भिन्स’ गरेको देखिन्छ । यो सारा तयारी र सहयोगको पछि पनि एमालेको केही कारण रहेको हुन सक्ने देखिन्छ । कार्यपालिकामा काँग्रेसको बहुमत भए पनि मेयर, उपमेयर र अरु केही वडाध्यक्ष एमालेको भएको खण्डमा बालेनलाई काम गर्न धेरै सजिलो हुने अनुमान गर्न सकिन्छ । त्यस हिसाबले पनि बालेन विस्तारै एमालेप्रति आकर्षित हुन थालेका विशेष श्रोत बताउँछ ।

उपमेयरको मेयर बालेनसंगको सुमधुरतालाई पनि त्यही तयारीको रुपमा बुझ्न सकिन्छ । यस्तै गरी काम गर्न अफ्ट्यारै परेको खण्डमा अन्तिममा बालेन एमाले प्रवेश गर्न सक्ने जानकारहरु बताउँछन् । त्यसको कारण भनेको पछिल्लो समय विकसित भएका घटनाक्रम नै हुन् । ती भनेका ओलीसंग २ पटक बालेनले भेट्नु, ओलीले तबला उपहार दिनु, यमोबुद्धको शालिक बनाउने विवादित निर्णयमाथि एक सातापछि एमालेले स्वागत गर्नु, मेयर र उपमेयरको हिमचिम बढ्नु, इत्यादि । मेयर शाहले भने अहिलेसम्म कुनै पार्टीमा प्रवेश नगर्ने बताइरहेका छन् ।

तर उनका पछिल्ला निर्णय र काम गराइले उनले प्रसंसाभन्दा अहिले आलोचना खेपिरहेका छन् । मेयरको चुनावी दौरानमा उनको जुन लोकप्रियता थियो, अहिले भने त्यो घट्दो छ । फोहर ब्यवस्थापन पनि काठमाण्डौँमा चुनौतिपूर्ण बनिरकेको छ । यहाँ पनि उनले भनेजस्तो काम गर्न असमर्थ छन् । विहिबार मात्र ई–स्पोटस्को लागि १ करोड विनियोजन गर्ने निर्णयले उनको थप आलोचना सुरु भएको छ । बालबालिका र युवालाई ‘पब्जी’ र ‘फ्रिफायर’ खेलाउने संस्थालाई यति मोटो रकम दिन लागेको भनेर उनी आलोचित भएका हुन् । धेरैले चुनावमा जिताउन भूमिका खेलेबापत् ई–स्पोटस् ( रुटिन अफ नेपाल बन्द) लाई गुन तिर्न त्यो रकम विनियोजन गरेको लगायतका आरोपले मेयर बालेन अहिले तनावमा छन् । बालनेसंग मिडिया पनि त्यति सन्तुष्ट नभएका कारण काम गर्न कठिन छ । त्यसैले मेयर बालेन पछिल्लो समय दलप्रति आकर्षित भएका हुन् । बाहिर त्यो नदेखिए पनि घटनाक्रमले त्यो पुष्टि गर्दछ । यी घटनाक्रमले एमालेको बालेनप्रति झुकाव हो कि बालेनको एमालेप्रति बुझ्न भने कठिन छ । उसो त एमाले मात्र होइन बालेनलाई स्वागत गर्न काँग्रेश, माओवादी लगायतका दल पनि आतुर छन् ।


प्रतिक्रिया दिनुहोस्