कार्यवाहक राष्ट्रपति विक्रमासिंघे भन्छन्ः सेना र प्रहरीले सम्हालेन्छन् देश

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ५ : १६


काठमाडौं। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर माल्दिभ्स भागेपछि यतिबेला प्रधानम्रन्त्री रनिल विक्रमासिंघे देशका कार्यकारी राष्ट्रपति घोषित भएका छन्।

यद्यपी उनको पनि चर्को आलोचना भइरहेको छ। प्रदर्शनकारीहरु प्रधानमन्त्री निवासमा पनि घुसिसकेका छन्। उनीहरुले प्रधानमन्त्रीको पनि राजिनामा मागिरहेका छन्।

देशव्यापी प्रदर्शन भइरहँदा यतिबेला सरकारले श्रीलंकामा संकटकाल घोषणा गरेको छ। यस क्रममा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका प्रधानमन्त्री विक्रमासिंघेले देशका सेना र प्रहरीले अब देश सम्हाल्ने बताएका छन्।

उनले देशमा जारी हिंसा र प्रदर्शनलाई सेना र प्रहरीलेले सम्हाल्ने बताएका हुन्। विक्रमासिंघेले विभिन्न सैन्य अधिकारीहरुको एक समिति बनाएका छन्।

उनीहरुको जिम्मा अब देशमा हिंसा र प्रदर्शन रोक्नु हो। सुरक्षा व्यवस्थालाई सन्तुलन गर्न उक्त समिति बनाइएको हो। एक भिडिओ बयानमा प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति विक्रमासिंघेले भनेका छन्,‘सेना र प्रहरीले विद्यमान अवस्थालाई नियन्त्रण गर्ने जिम्मा दिइएको छ।’

चरम आर्थिक संकट निम्तिएसँगै महँगी बढेपछि र आवश्यक सामग्रीहरु अभाव भएपछि श्रीलंकाली जनताहरु देशव्यापी आन्दोलनमा उत्रिएका हुन्।

पछिल्ला दिनहरुमा देशका शीर्ष नेताहरु प्रदर्शनकारीको त्रासका कारण देश छाड्दैछन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्