प्रधानमन्त्री कार्यालयमा घुसेर प्रदर्शनकारीले गर्नथाले रमाइलो, सेल्फी खिच्नेदेखि नाच्ने गाउनेसम्म

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ४ : ५०


काठमाडौं। श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको कार्यालय पनि कब्जा गरेका छन्।

बुधबार बिहानैदेखि कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू जम्मा हुन थालेका थिए।

उनीहरूलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। दिउँसो बढ्दै गएका प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए। झडपमा दुबैतिरका केही मानिस घाइते भएका थिए।

प्रदर्शनकारी बढ्दै गएपछि सुरक्षाकर्मीले प्रधानमन्त्री कार्यालय जोगाउन सकेनन्। बार भत्काएर प्रदर्शनकारी भित्र पसेको न्युजवायरले जनाएको छ।

राष्ट्रपति गोटवाया राजापाक्षे भागेर माल्दिभ्स पुगेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे अहिले कार्यवाहक राष्ट्रपति पनि छन्। प्रदर्शनकारीहरूले विक्रमासिंघेले पनि राजीनामा दिनु पर्ने माग गरिरहेका छन्।

प्रधानमन्त्री कार्यालय भित्र प्रदर्शनकारीले सेल्फी खिच्ने, नाचगान गर्ने गरिरहेका छन्। यसअघि राष्ट्रपतिको निवासमा पनि उनीहरुले यस्तै गरेका थिए।

चरम आर्थिक संकट निम्तिएसँगै महँगी बढेपछि र आवश्यक सामग्रीहरु अभाव भएपछि श्रीलंकाली जनताहरु देशव्यापी आन्दोलनमा उत्रिएका हुन्।

पछिल्ला दिनहरुमा देशका शीर्ष नेताहरु प्रदर्शनकारीको त्रासका कारण देश छाड्दैछन्।


प्रतिक्रिया दिनुहोस्