२५ बर्षको अनुभव साट्दै अनिताले मागिन् प्रेस युनियनको अध्यक्षमा भोट

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ३ : २७


काठमाण्डौँ । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मिति नजिकिँदै छ । साउन ६ र ७ गते वाग्मती प्रदेशको राजधानी हेटौँडामा हुन महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । यसको लागि बिभिन्न ब्यक्तिले नेतृत्वमा आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन् ।

अध्यक्ष पदको लागि निकै चर्चामा रहेकी पात्र हुन् अनिता बिन्दु । लामो समय पत्रकारितामा विताएकी उनी अहिले नेपाल टेलिभिजनमा छिन् । उनको उम्मेदवारी घोषणापछि प्रेस युनियनको इतिहासमा पहिलो पटक महिला नेतृत्व विजयी हुन्छ कि भन्ने धेरैले अनुमान गरेका छन् ।

यसै सन्दर्भमा उनले आफूलाई जिताउने कारणबारे मतदातालाई जानकारी गराएकी छन् । मंगलबार सामाजिक संजाल फेसबुकमा आफ्नो विचार लेख्दै उनले मत मागेकी हुन् । आफूले २५ बर्षसम्म मिडिया क्षेत्रमा काम गरी अनुभव हासिल गरेको हुनाले जित हासिल गरेको खण्डमा नयाँ उचाई दिने उनले बताइन् ।

उनी लेख्छिन् ‘बिगत २५ बर्षदेखि पत्रकारिता क्षेत्रमामा रहेर काम गर्दै जाँदा संचार क्षेत्रका विविध आयामहरुलाई नजिकबाट बुझ्ने अवसर पाएँ । नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघको उपाध्यक्ष पदमा रहेर संगठनको लागि काम गरेँ। अब यो अनुभवसंगै संगठनको प्रमुख नेतृत्वमा पुगेर पत्रकारिता क्षेत्रलाई व्यवसायिक र विश्वसनीय बनाउदै व्यवसायिक पत्रकारहरुको आत्मसम्मान उच्च बनाउने काममा अहोरात्र खट्ने विश्वास दिलाउछु । यो अठोटलाई दृढ संकल्पका साथ कार्यान्वयन गर्न मैले आगामी साउन ६ र ७ गते हेटौडामा हुने नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु । यहाँहरुको साथ र सहयोग रहने बिश्वास लिएकी छु ।’

युनियनको पदाधिकारी, केन्द्रिय सदस्य लगायतका अन्य पदमा उम्मेदवारी दिने क्रम भइरहेको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले सो महाधिवेशनको उद्घाटन गर्नु हुने कार्यक्रम रहेको युनियनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्