राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्रः तपाईहरु सुत्ने ‘खाट’ मा एक रात कटाउन मन छ

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ६ : ४३


चन्द्रकान्त न्यौपाने ।

काठमाण्डौँ ।
महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी ज्यू,
सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा ज्यू,
आदरणीय अरु मन्त्री र सांसद ज्यूहरु ।

म एक सामान्य नागरिक हुँ । एक गाउँको सामान्य किसानको छोरो हुँ । आराम छु र हजुरहरुको पनि आराम चाहान्छु । मैले आजसम्म हजुरहरु र हजुर बस्ने घर फोटो र भिडिओमा बाहेक देख्ने अवसर पाएको छैन । यो मुलुकको अभिभावक र ३ करोड नेपालीको भविष्य तपाईहरु नै भएको हुनाले म मेरा केही गन्थनमन्थनहरु यो पत्र मार्फत् तपाईहरुलाई पठाउँदै छु, पक्कै पनि पढ्नु हुने छ भन्ने पूर्ण विश्वास छ ।

बढ्दो महंगीले मलाई अचेल विहान साँझ छाक टार्न धौधौ बनाएको छ । केटाकेटी, बुढा आमाबुबा र अबोध श्रीमतीको पीडा र आँशु देख्न नसक्दा आत्महत्या गरौँ कि भन्ने पनि सोँच्छु घरीघरी । तर आत्महत्या गर्नै परे पनि मेरा समस्या तपाईहरुलाई थाहा दिएर गर्ने छु भन्ने सोँचले यो पत्र हजुरहरुलाई लेख्दै छु । एउटा झिनो विश्वास यो पनि छ कि यो पत्रको सन्देश तपाईहरुले पाउनु हुने छ । पत्रको सन्देश नपाए त म के नै गर्न सकुला र तर पाएर पनि यसको वेवास्ता भयो भने मैले आत्म हत्या गर्ने छु र यसको दोष र पाप तपाइहरुले लिनु पर्ने छ ।

प्रधानमन्त्री र राष्टपति ज्यू ।

म अहिले महंगीले नराम्ररी थिचिएको छु । तर तपाईँहरुलाई यस महंगीले थिँचेको छ कि छैन मलाई रत्ति थाहा छैन । हिजो दाल, भात तरकारी, अचार, चटनी, सलाद पाक्ने मेरो चुलोमा अचेल भातसंग कि दाल मात्र पाक्छ कि तरकारी मात्र । सलाद र अरुको त कुरा छोडौँ । चामल पनि किन्न नसकेपछि भात पनि पाक्न छाडेको छ भान्छामा अचेल । बाँच्नको लागि खानै पर्ने बाध्यताले मुछेको मिठोको रोटीलाई आगोको भुग्रोमा डढाएर बनेको रोटोको टुक्रालाई भाग लगाएर खानु परेको छ, आगो बाल्न ग्याँस छैन । केही महिनादेखि खानामा मात्रा नपुगेर अचेल शरीर पनि बिसन्चो भएको छ । धेरै थाक्छु ।

पिरैपिरले निधारभरी गााठा देखिन्छ भने मुखको छाला सुकेको पातजस्तो भएको छ । जीब्रोले फलफुल चाख्न छोडेको पनि ५ । ६ महिना जति भइसक्यो । तर तपाईहरुको आहार र ब्यञंजन घटेको छ कि छैनन् त्यो पनि मलाई थाहा छैन । २० बर्ष अघि मेरो बुबाले बनाइदिएको खटियाका रसीहरु छिनेर आज मेरो सुताई भुईमा हुने गरेको छ । हजुर बुबाले जोडिदिएको ३० बर्षे पलंग धमिराले खाएर भाँच्चिएपछि अचेल आमा र बुबा पनि चिसो भुईमा रात विताउन बाध्य हुनुहुन्छ । तर सुन्छु् तपाईँहरुको खाट र पलंगहरु त लाखौँ लाख मोल पर्ने खालका छन् अरे ? सुन चाँदीको जलप पनि लगाइएको छ रे । तीनको आकार घट्यो कि बढ्यो त्यो पनि मलाई थाहा छैन ।

एउटा दोकान वालाले बेकामे भएर सडकमा हुर्राराएको काटुन टिपेर ल्याई श्रीमती, छोराछोरी र मेरा कपडा पट्याएर राखेको छु । तर आज त्यो पनि गलेर लुतुक्क भएपछि लत्ता कपडा भुँइभरी छरिएर रहेका छन् । प्लाष्टिकको झोला समेत किन्न नसक्ने भएको छु । तर तपाईहरुका सारी, ब्लाउज, कोट, पाइन्ट र दौरा सुरुवालले तपाईका निवासका महंगा महंगा दराजमा खुबैसंग आराम गरिरहका हुन्छन् रे भन्ने सुनेको छु ।
घरको खरको छानो चुहिने भएको छ । स्याउलापातले जोडजाड गरेर टालेर बारेको घरका भित्ताहरु धमिराले खाएर जिर्ण भएका छन् ।

घरका खाँबा बला पनि ढल्ने भएका छन् । भीत्ताभरी यसरी प्वालैप्वाल परेका छन् कि पानी पर्यो भने पानी भित्र छिरिहाल्छ । त्यसपछि अचेल मेरो परिवारको आड धर्ती र ओत आकाश बनेको छ । तर तपाईहरुका निवासका भुईमा त हप्ताहप्तामा हरेक महिना संगमर्मर र रंगमर्मर फेरिरहन्छन् रे भन्ने सुनेको छु । महंगीको मारले छोराछोरीलाई पढाउन नसक्ने भएपछि अहिले सरकारी स्कुलबाट पनि थुतेको छु । छिमेकी स्कुल पढ्न जाँदा उनीहरु स्कुल स्कुल भन्दै रुन्छन् । चिच्याउँछन् । त्यो हेर्नु मेरो बाध्यता बनेको छ । तर सुनेको छु तपाईहरुका छोराछोरीहरु अमेरिका, क्यानाडा, अष्टेलिया जापानका महंगा विश्व विद्यालयमा पढका हुन् रे । अचेल त उनीहरुलाई ती देश पानी पँधेराजस्ता भएका छन् रे ।

मेरा भोकका भीत्ताहरु अचेल दिनदिनै चिच्याइरहेका छन् बाँच्नको लागि । हात मुख जोर्न सुको पनि नभएपछि छोराछोरी, श्रीमतीको अनि मेरो टन्टलापुरे भुँडी चर्को घाममा सेकाएपछिको सहानुभुतिले आएको भीखले जिन्दगी चलाइरहेको छु । तर खै हजुरहरुलाई मलाई जस्तो भोक लाग्छ कि लाग्दैन त्यो पनि थाहा छैन । तर शरीरको बनोट एउटै भएको कारण पेटले खाना माग्नु पर्ने हो भन्ठान्छु ।  मेरो घरको चापाकल सुकेर पानी आउन छोडेको पनि धेरै भइसक्यो । महंगीले बोतलको पानी किन्न नसकेर छेउको मूलको पानी भरेर अचेल प्यास मेटेको छु । सुकेका ओँठमुख भिजाएको छु । तर सुन्छु हजुरहरुको लागि त पिउने पानी त विदेशबाट आउँछ रे ? यस्तै धेरै धेरै सुनेको छु हजुरहरुको बारेमा ।

विरामी हुँदा ओक्तो मुलो गर्ने सुका नहुँदा अझै पनि धामीझँक्रीकहाँ गएर फुकाउन विवस छौँ । अझै बढेको यो महंगीले त त्यही धामीझाँक्री कहाँ जान पनि सकिएको छैन । छोराको भुँडी फुल्लिएको कैयौँ दिन भइसक्यो पालेर बसिरहेको छु घरमा । म मात्र होइन मेरा आफन्त गास, बास, कपास र औषधीको अभावले छट्पटिरहेका छौँ । कसैले पनि रोजगारी भन्ने के हो मुख देख्न पाएका छैनौँ आजसम्म । तर तपाइँका परिवार र आफन्त त सेटिंग मिलाएर ठाउँठाउँमा सेट हुनुभएको छ रे । तपाईहरु त पेट दुख्यो र छेरौटी लाग्यो भने पनि विदेशका महंगा–महंगा अस्पताल जानु हुन्छ रे । जति महंगी बढे पनि तपाईहरुको ऐस, अराम र मनोरञ्जनमा कुनै कमी आएको छैन रे भन्ने सुनेको छु ।

मजदुरी गर्न जाँदा लगाउने चप्पल पनि फाटिसक्यो । चप्पलमा चुँडेको फिता गाँस्न नसक्दा खाली खुट्टा बजारेर हिँड्न थालेको पनि केही महिना हुन थाल्यो । जसले गर्दा खुट्टाका कुर्कुच्चा पट्पटी फुटेर बाँझो खेतजस्तो भएका छन् । तर सुन्छु हजुरहरुलाई एक भीत्ता पनि हिँड्न पर्दैन अरे । हजुर सुतेकै स्थानमा चिया, कफी लगायतका ब्यञ्जन पुग्छ रे । हिँडडुल गर्नै पर्दैन रे, महंगामहंगा गाडीहरु आएर विस्तराबाटै उठाउँछन् रे । तपाईहरु त कालो सिसाले छोपिएर साइरन बजाउँदै आवतजावत गर्नु हुन्छ रे ? यस्तै धेरै धेरै सुनेको छु हजुरहरुको बारेमा । दुखसुख गरेर जोडेको सकुम्बासी जग्गामा कसैले आएर एक भित्ता पनि कोप्यो भने उसंग लड्न र भीँड्न मन लाग्छ मलाई अनि लड्छु र दिन्नँ एक अम्बल पनि उसलाई । तर तपाईँहरु त देशको माटो सुस्ता र कालापानीमा अरुले आएर बस्ती बसाउँदा पनि चुपचाप हुनुहुन्छ रे । देशप्रेमको भावमा पनि तपाई र ममा यति धेरै भिन्नता हुन्छ र ? यो पत्र लेख्दै गर्दा यस्तैयस्तै कुराले धरधरी रोइरहेको छु प्रधानमन्त्री ज्यू ।

प्रधानमन्त्री ज्यू यस्तो किन भयो ? नेता र जनताबीच यो विभेद कसरी भयो ? तपाईहरुले त्यति धेरै सुविधा कसरी पाउनु भयो ? अनि यही देशको नागरिकता पाएर पनि अनागरिक जस्तो हामी किन भइरह्यौँ बषौँसम्म ? धेरैधेरै प्रश्न गर्न मन लागिरहेको छ हजुरहरुलाई । मजस्तै ३ करोड नेपालीले भोकतिर्खा नभनी दुख सहेर आर्जन गरेको पैसा र तिरेको करले तपाईँहरुले आजको सुविधा भोग गरिरहनु भएको हो भन्नेमा मजस्तो गोवर गणेशलाई पनि थाहा छ । जनता र नेताले भोग गर्ने सुविधामा किन यति धेरै भिन्नता ? मैले आत्महत्या नगर्दै जवाफ फर्काउनु होला तपाइँहरुले ।

यो पत्र लेख्दै गर्दा मलाई श्रीलंकाको याद आयो राष्टपति ज्यू । गरिबीको कारणले गर्दा म त सूचनाको हकबाट बञ्चित भएको एक अनागरिक हुँ । अस्ति साथीले मोबाइलमा एउटा भयानक दृश्य देखायो । त्यो श्रीलंकाको रहेछ । मैले जस्तै एक गास रोटो, नुन तेल, औषधी–उपचार नपाए छट्पटीएका त्यहाँका सर्वसाधारण राज्यविरुद्ध उत्रेका रहेछन् । लामोसमयसम्म त्यहाँको सरकार जनउत्तरदायी नहुँदा जनताले उनीहरुलाई गलहत्याएका रहेछन् । खेदेका रहेछन् । त्यसपछि राष्टपति र प्रधानमन्त्री वस्ने आलिसान महलमा कहिल्यै देख्न नपाएका जनताहरु घरभित्रै पसेछन् । कब्जा गरेछन् । पौडी खेलेछन् । सेल्फी खिचाएछन् । अनि शाषकहरु सुत्ने खाटमा सुतेर मस्तसंग निदाए र आफ्नो अन्तिम इच्छा पुरा गरेछन् ।

हो आज मलाई पनि तपाईहरु बस्ने घर देख्न मन लागेको छ । तपाईहरुको सुविधासम्पन्न आवासभित्र छिर्न मन लागेको छ । तपाइँले खाने ब्यञ्जनले मुख फेर्न मन लागेको छ । तपाईहरु सुत्ने खाटमा एक नीद्रा निदाउन मन लागेको छ । तपाई चढ्ने गाडीमा एक फन्को घुमेर हिँड्दाहिँड्दा शिथिल बनेका यी पाउहरुलाई विश्राम दिन मन लागेको छ । हुन त पानी दिनहूँ पिएरै यो पत्र लेख्दासम्म बाँचिरहेको छु तर तपाईले पिउने पानीको स्वाद चाख्न मन लागेको छ । तपाइले टेक्ने त्यो संगमर्मरमा एक मिनेट भए पनि चिप्लेटी खेल्न मन लागेको छ । अरु धेरै गर्न मन लागेको छ त्यहाँ आएर ।

तर के गर्नु मजस्तो भुईमान्छे र अनागरिकको त्यो एउटा दिवा स्वप्न र कल्पना मात्र हुनेछ । तपाईका निवास पस्ने मेरो चेष्टामा हाम्रो कर खाएर तपाईको सुरक्षामा खटिएका सेनाका बुट र बन्दुकका नाल बर्जने छन् । मेरो कञ्चटमा । मेरो छातीमा । तर यही जनतालाई रोग, भोक र प्यासमा पारिरहने हद तपाईहरुबाट भइ नै रहने हो भने त्यो सेनाको बन्दुकको नाल र बुटले मलाई छेक्ने छैन । हामीलाई छेक्ने छैन । यही अपमान, तिस्कार र विभेद पाइरने हो भने अब छिटै हामी अनागरिकहरु ? श्रीलंकामाजस्तै देशभरबाट जुटेर त्यहाँका काँडे तार र पर्खाल भत्काउन लाग्ने छौँ । भित्र छिर्ने छौँ ।

त्यहाँको स्विमिंग पुलमा पौडी खेल्ने छौँ । सेल्फी खिच्ने छौँ । त्यहाँका लचकदार सोफामा उफ्रने छौँ । यति बेला मजस्ता भोक र भित्ता अनि अनागरिक मात्र नभएर तपाईहरुको स्वस्ती गर्ने, जयजयकार गर्ने, चाकडी गर्ने, हजारौँ हजार नेता कार्यकर्ता पनि हाम्रो साथमा हुने छन् । तपाईको निवासमा आउन खोज्दा हामीलाई बन्दुकको नाल देखाउनेहरुले तपाईहरुको कञ्चट ताक्ने छन् । अनि तपाईहरुलाई पनि हामीले खेद्ने छौँ । लखेट्ने छौँ । भ्रष्टाचारी कुनै मन्त्री, सांसद र नेतालाई छोड्ने छैनौँ । अनि मैले मेरो शाषक बस्ने घरभित्र छिर्ने इच्छा पुरा गर्ने छु । तपाईहरु सुत्ने खाटमा एक रात कटाउने मेरो सपना पनि साकार हुने छ । धन्यबाद ।
प्रेसक
चन्द्रकान्त न्यौपाने, काठमाण्डौँ ।


प्रतिक्रिया दिनुहोस्