काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘आकाशगंगा’को पहिलो रंगीन तस्बिर सार्वजनिक गरेका छन्।
विश्वकै सबैभन्दा शक्तिशाली मानिएको जेम्स वेब्स टेलिस्कोपबाट उक्त फोटो खिचिएको सीएनएनले जनाएको छ।
अमेरिकी अन्तरिक्ष संस्था नासा, युरोपियन स्पेस एजेन्सी र क्यानडाको स्पेस एजेन्सीले जेम्स वेब टेलिस्कोपबाट अन्तरिक्षको रहस्य पत्ता लगाउन काम गरिरहेका छन्।
बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आकाशगंगाको पहिलो रंगीन तस्बिर संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।
तस्बिरमा अन्तरिक्षलाई सुक्ष्म रुपमा देख्न सकिन्छ। तस्बिर सार्वजनिक गर्दै बाइडेनले अमेरिका र पुरै विश्वको लागि यो ऐतिहासिक क्षण भएको बताए।
जेम्स वेब टेलिस्कोप गतवर्षको डिसेम्बरमा लन्च गरिएको थियो। यो टेलिस्कोप अन्तरिक्षको कक्षमा २० वर्षसम्म टिक्ने अनुमान गरिएको छ।
नासाका डेप्टी एडमिनिस्ट्रेटर पाम मेलरोयका अनुसार तस्बिरमा देखिएको प्रकाशले १३ अर्ब वर्षयता यात्रा गरिरहेको छ। खिचिएको ६ महिनापछि यो तस्बिर सार्वजनिक गरिएको हो।