रुपन्देहीको एक क्याम्पस शिक्षकले चुम्बन गरे, छात्राले लगाइन् ‘यौन दुर्व्यवहार’ को आरोप

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : ०९


बुटवल । क्यूएए प्रमाण पत्र प्राप्त गर्न सफल रुपन्देहीको एक बहुमुखी क्याम्पसमा शिक्षकले विद्यार्थीमाथि यौन दुर्वब्यावहार गरेको पाइएको छ । तिलोत्तमा नगरपालिकास्थित राममणि बहुमुखी क्याम्पसका विज्ञान विषय पढाउने शिक्षकले एक छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको हो । विज्ञान शिक्षक केशव ढुंगानाले आफूलाई कोठामा चुम्बन गरेको एक छात्राले बताएकी छन् ।

पेटको समस्या भएपछि सोमबार एक छात्रालाई डेरामा छाड्न शिक्षक गएका थिए । छात्रा ढुंगानाले त्यो बेला आफूलाई उचालेर चुम्बन गरेको साथीहरुलाई बताएकी छन् । त्यसपछि घटना थाहा भएको हो ।

अगुवा विद्यार्थीहरुले सो घटना प्रिन्सिपल ताराप्रसाद पराजुलीलाई जानकारी गराए पनि यस घटनालाई क्याम्पसभित्र गुपचुप राख्न खोजिएको आरोप छ । प्रिन्सिपल पराजुलीले सो घटना प्रहरीमा जानकारी नगराउन भन्दै छात्राका अभिभावकलाई रोक्न खोजेको बताइएको छ । सोमबार दिउँसो २ बजेको सो घटनाबारे हालसम्म कुनै उजुरी तथा सूचना प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

उता आरोपित ढुंगानाले भने आफूनै पीडित बनेको बताउँदै आफूमाथि आरोप मात्रै लगाएको बताएका छन् । उनले भने ‘आफ्नो विद्यार्थीलाई सहयोग गर्दा उल्टै आरोप लाग्यो, मेरो आचरण बारे अन्य विद्यार्थीसँग पनि बुझ्न सक्नुहुन्छ । ममाथि षड्यन्त्र गरिँदै छ, विद्यार्थीले लगाएको आरोपको भरमा अतिरञ्जित गरी बढाइँदै छ ।’बुटवलस्थित ग्लोबल आवाजले खबर लेखेको छ ।


प्रतिक्रिया दिनुहोस्