युवा प्रधानमन्त्रीमा मनिषा कार्की निर्वाचित

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : २०


यस वर्षको युवा प्रधानमन्त्रीमा दैलेखकी मनिषा कार्की निर्वाचित भएकी छन्। राष्ट्रिय युवा परिषद्को आयोजनामा शनिबारदेखि ‘सङ्घीय नमूना युवा संसद्’ मा २४ वर्षीया कार्की युवा प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन। गत वर्ष पोखराकी स्मृति बराल युवा प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन।

यस्तै सभामुखमा झापा विर्तामोडका २४ वर्षीया पूजा कँडेल निर्वाचित भएकी छन। उपसभामुखमा रुपन्देहीका अविष्कार पराजुली, प्रतिपक्ष दलको नेतामा कैलालीको रविन्द्रविक्रम शाह चयन भएका छन्। राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सुसूचित गराउन शनिबारदेखि भर्चुअल ‘सङ्घीय नमूना युवा संसद्’ सञ्चालन गरेको छ ।

यसरी नमूना युवा संसद्बाट चयन भएका प्रधानमन्त्री, सभामुख, मन्त्री, प्रमुख सचेतक, प्रमुख प्रतिपक्ष दलका नेता र सांसदको भूमिकामा चयन भएका युवाले आजदेखि सङ्घीय नमूना संसद्सभाको अभ्यास गर्दै छन्। उनीहरूलाई शनिबार र आइतबार नेपालको संसदीय अभ्यास, व्यवस्थापिका संसद् सञ्चालन, संसदीय शब्दावली र लोकतन्त्रबारे प्रशिक्षित गरिएको थियो।

परिषद्ले १६ देखि २४ वर्ष उमेर समूहका युवालाई संसदीय प्रणालीबारे जानकारी गराउन हरेक वर्ष सङ्घीय नमूना युवा संसद्को अभ्यास गराइँदै आएको छ। परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकास गर्नका लागि नमूना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको बताए।

उनले युवालाई कानुन, संविधान, सभ्यताको ज्ञान र स्वयंसेवी भाव, अधिकार, कर्तव्य र दायित्व बोध गराउन संसदीय अभ्यास गराइने बताए।

परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था र संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमूना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ। नमूना युवा संसद् भोलिसम्म सञ्चालन हुनेछ। रासस


प्रतिक्रिया दिनुहोस्