एउटै व्यापारिक घरानाले बैंकिङ कर्जा सुविधा लिँदा अर्थतन्त्र जोखिममाः गभर्नर

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ३ : ५३


काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटै व्यापारिक घरानाले बैंकिङ कर्जा सुविधा लिँदा अर्थतन्त्रमा जोखिम बढेको बताएका छन् ।

आज सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आउँदो मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले विगतदेखि व्यवसायी र बैंकर्स छुट्याउने प्रयास गरे पनि सफल नभएको बताए । ‘एउटै व्यावसायिक घराना बैंक, इन्स्योरेन्स, धितोपत्र र अन्य व्यवसायमा सहभागी भएको हुन्छ । यसरी व्यापारमा सबै कर्जा निश्चित व्यवसायीहरूले लिँदा भविष्यमा अर्थतन्त्रमा एक खालको जोखिम निम्तिन्छ । राष्ट्र बैंकले विगतदेखि बैंकर्स र व्यवसायी छुट्याउने काम गरेको छ तर विविध कारणले हुन नसकेको छैन । अब हामीले कुनै एउटा व्यावसायिक घराना डुब्दैमा अर्थतन्त्रलाई असर नपर्ने स्थिति सिर्जना गर्नुपर्छ । अर्थतन्त्रको फाइदा सबैले पाउनुपर्छ ।’ उनले भने ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले आउँदो आर्थिक वर्षमा पनि मूल्यवृद्धि लक्ष्यभन्दा माथि नै हुने बताए । चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएको भए पनि अन्तर्राष्ट्रिय बजारमा समेत मूल्यवृद्धि अत्यधिक रूपमा बढेकाले लक्ष्यभन्दा बाहिर जाने अवस्था रहेको उनको भनाई छ ।

गभर्नर अधिकारीले विश्वका धेरैजसो देशका केन्द्रीय बैंकहरूले मूल्यवृद्धि नियन्त्रण गर्ने मौद्रिक नीति ल्याएकाले नेपालले पनि त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने ‘मूल्यवृद्धि हामीले आसा गरेको भन्दा माथि नै जाने सम्भावना छ । पछिल्लो समय रुस र युक्रेनबीचको युद्धले वितरण प्रणालीमा ठूलो असर पारेको छ । इन्धनको मूल्य धेरै बढेको कारण अन्य वस्तुको मूल्य बढेको छ ।वैशाख मसान्तसम्ममा ७ दशमलव ८७ प्रतिशत मूल्यवृद्धि रहेको छ । अहिलेसम्मको अवस्था तल झर्ने देखिएको छैन ।’

गभर्नर अधिकारीले बैठकमा शेयर बजारको विषयमा भने बोल्न चाहेनन् । उनले शेयर बजारको नियामक निकाय राष्ट्र बैंक नभएको भन्दै शेयर धितो कर्जाको ४र१२ करोड सीमाको विषयमा न बोल्ने बताए । आफूहरूले बोल्दा शेयर बजारमा नकारात्मक असर पर्दै गएको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्