भक्तपुरका वडा अध्यक्ष, जसले सडकबाटै वडा कार्यालय चलाए

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : ४१


काठमाण्डौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका-६ का वडाध्यक्ष धनबहादुर लामाले सडकमै बसेर कार्यालय सञ्चालन गरेका छन्। भक्तपुर-नगरकोटको सडक नबनाएको भन्दै उनले विरोधमा लामाटोलस्थित सडकमा बसेर कार्यालय सञ्चालन गरेका हुन्। उनी सोमबार बिहान १० बजेदेखि सडकमा कुर्सी र टेबल राखेर बसेका छन्।

सेवाग्राहीहरू पनि सडकमै आइपुगेका छन्। वर्षौंसम्म पनि ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले सडक नबनाएपछि विरोधस्वरूप आफू सडकमा आउनु परेको उनी बताउँछन्।

यो सडक आठ/नौ वर्षदेखि ठेकेदारको लापर्बाही, सरकारको अकर्मण्यताले गर्दा सडक बनाउन नसकिएको भन्दै उनले विरोधस्वरुप यसो गरेका हुन् । सडकको खराबीले गर्दा स्थानीय उपभोक्तादेखि नगरकोटमा घुम्न आउने पर्यटकलाई साह्रै अप्ठेरो परेको उनले बताएका छन् । पटकपटक सरकारका विभिन्न निकायमा ध्यानाकर्षण गर्दा पनि बन्ने अवस्था नदेखिएपछि सरकारको ध्यानाकर्षणको लागि सडकमा कार्यालय चलाउनु परेको उनको भनार्य छ।
आफूले पनि नबनाउने र अरूलाई पनि बनाउन नदिने सरकारी नीतिले सडकको हालत यस्तो भएको उनले बताए ।

भक्तपुरदेखि नगरकोटको भट्टेडाँडासम्म १५।६६० किलोमिटरको सडक स्तरोन्नतिका लागि उनीसँग २०७१ असार २ गते सम्झौता भएको थियो।


प्रतिक्रिया दिनुहोस्