काँग्रेस केन्द्रीय कार्यालयमा शेखर पक्षका युवा कार्यकर्ताको प्रदर्शन

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : १७


काठमाण्डौँ । पार्टीका भ्रातृ संगठन र विभागलाई पूर्णता दिन माग गर्दै नेपाली कांग्रेसका युवा कार्यकर्ताले पार्टी कार्यालय बाहिर नाराबाजी गरेका छन् ।

केन्द्रीय समिति बैठक शुरु हुने बेला कांग्रेसका युवा कार्यकर्ताले भ्रातृ संगठनलाई पूर्णता दिन माग गर्दै विरोध जनाएका हुन् ।

संस्थापनइतर डा। शेखर कोइराला पक्षका युवाहरूले सानेपामा कांग्रेस कार्यालय नजिक प्रदर्शन गरेका हुन् । उनीहरूले ‘एकाधिकार मान्दैनौँ, विधानको पालना गर’ भन्दै नारा लगाइरहेका छन् । केन्द्रीय समितिको बैठक सोमवार दिउँसो बस्दैछ ।

पार्टी कार्यालय बाहिर नाराबाजी गरिरहेकाहरूलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य नैनसिंह महरले भातृ संगठनको पदाधिकारी नियुक्तिबारे बैठकमा कुरा उठाउने बताए ।

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा डा। शेखर कोइराला पक्षले सरकारका काम कारबाही र पार्टी विधानअनुसार नचलेको विषयमा केन्द्रीय समितिमा आवाज उठाउने निर्णय गरेको थियो ।

महाधिवेशन सम्पन्न भएको ६ महिनासम्म कांग्रेसले विभाग गठन गर्न सकेको छैन । केही गठन गरिए पनि तिनीहरूले पूर्णता पाउन सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्