कपिल देवले विराटलाई भने ‘कि लयमा आउनु, कि क्रिकेट छोड्नू’

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ३ : ५०


काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा लिजेन्ड अलराउन्डर कपिल देवले विराट कोहली टिममा परेको बारे असन्तुष्टि जनाएका छन् । राम्रो प्रदर्शन गरिरहेका खेलाडीलाई टिममा स्थान दिनु पर्ने बताउँदै उनले आगामी बिभिन्न खेलका लागि छनौट गरिएको टिममा कोहली परेकोमा तीव्र असन्तुष्टि जनाएका हुन् ।

देवले खेलाडीको टिममा रहेको योगदानलाई भन्दा पनि उसको अहिलेको लय कस्तो रहेको छ त्यसका आधारमा टोली बनाउनु पर्ने बताए ।

दुई वर्ष यता खास योगदान दिन नसके पनि टिममा स्थान बनाईरहेका पूर्व कप्तान विराट कोहलीलाई संकेत गरेर उनको यो धारण बाहिर आएको हो । इंग्ल्याण्डविरुद्धको दोस्रो टी–ट्वान्टी अन्तराष्ट्रियमा कोहली उपलब्ध हुनासाथ पहिलो टी–ट्वान्टीमा राम्रो प्रदर्शन गरेका र उच्च लयमा रहेका दिपक होडा बाहिरिएका थिए ।

’विश्वको टेस्ट वरियताको बलर तर्फ दोस्रो स्थानमा रहेका रविचन्द्रन आश्विनलाई टेस्टको प्लेईङ–११ मा नराख्दा हुन्छ भने विराटको बोझ टिमले किन लिइरहनु पर्ने,’ एबीपी न्युजसँगको कुराकानीका क्रममा कपिलले भने । ’कोहली एक समयका सर्वश्रेष्ठ खेलाडी रहेका थिए । अहिलेको अवस्थामा उनले विचार गर्नु पर्छ कि पुनः सोही लयमा नआउन्जेल विश्राम लिन जरुरत रहेको छ,’ कपिलले थपे ।


प्रतिक्रिया दिनुहोस्