जसपा फुटको उत्कर्षमाः असार २८ र २९ गते यादव र भट्टराईको छुट्टाछुट्टै भेला

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : ०३


काठमाण्डौँ । जनता समाजवादी पार्टीको नेतृत्वमा देखिएको विवाद उत्कर्षतर्फ छ। संघीय परिषद् अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको पक्षले एउटै मितिमा केन्द्रीय समितिको विस्तारित बैठक डाकेपछि उनीहरु औपचारिक फुटको नजिक भएका हुन्।

भट्टराईसहित अरु केही नेतालाई कारबाही गरेको यादव पक्षले असार २८ र २९ गते वीरगञ्जमा विस्तारित बैठक डाकेको थियो । त्यसैको काउण्टरमा असन्तुष्ट भट्टराई पक्षले पनि सोही मितिमै काठमाण्डौँमा वैठक डाकेको छ।

डा.भट्टराईले डाकेको बैठकमा छलफल हुने विभिन्न एजेण्डा तय गरी सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको जनाएका छन्।

बैठकको एजेण्डाहरुमा पार्टीको आन्तरिक अबस्थाबारे छलफल, स्थानीय निर्वाचनको समीक्षाबारे छलफल, संगठनबारे छलफल, आगामी कार्ययोजनाबारे छलफल र विविध रहेका जसपा नेता विश्वदीप पाण्डेले बताएका छन्।

यस्तै बैठकले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने बताइएको छ। एकै मितिमा दुई अध्यक्षको वैठक आह्वान भएपछि पार्टी फुटेको भन्दै चर्चा हुन थालेको छ।

यता अध्यक्ष उपेन्द्र यादवले भट्टराईले डाकेको बैठकलाई अवैधानिक भनेको छ। पार्टीको निर्णयअनुसार आफूले पहिल्यै वैठक डाकेको भन्दै भट्टराईले बोलाएको वैठक वैधानिक नभई गुटगत भेला भएको यादव पक्षको भनाई छ।

पार्टी केन्द्रीय समितिको बैठक बस्ने दिन नै डा.भट्टराईले भेला बोलाएपछि यादव पक्षले त्यसलाई अवैधानिक भनेको हो। यादव पक्षले भट्टराईले भ्रम छरिरहेको भन्दै उनीहरुको भेलामा नजान केन्द्रिय सदस्यलाई आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्