अबको चुनावपछि गगनलाई मैले पनि प्रधानमन्त्री स्विकार्छुः महामन्त्री शर्मा

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १ : ४०


काठमाण्डौँ । एक समय विपरित ध्रुवमा देखिएका नेपाली काँग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्माबीच अहिले निकै राम्रो राजनैतिक मित्रता देखिएको छ । अहिले पार्टी गतिविधिमा उनीहरुको एक ध्वनी छ ।

एकसमय एकएक गुट भिरेका उनीहरु पछिल्लो समय कुनै गुटगत भेलामा पनि देखिएका छैनन् । उनीहरु गुट भन्दा पनि पार्टीलाई सबलीकरणमा गर्ने दिशामा लागेको देखिन्छ । उनीहरु अहिले एक अर्काको काममा पनि निकै सहयोगी देखिन्छन् ।

यसैसन्दर्भमा महामन्त्री शर्माले अमेरिकाको एक कार्यक्रममा बोल्दै अबको चुनावपछि गगन थापालाई प्रधानमन्त्रीमा स्विकार्ने बताएका छन् । अबको चुनावपछि
गगन थापाले प्रधानमन्त्रीमा दाबी गर्ने हो भने आफ्नो समर्थन रहने उनले बताएका हुन् । यसअघि एक टेलिभिजन अन्तरवार्तामा गगनले अब आफूले प्रधानमन्त्रीको दावी गर्ने बताएका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले नर्दन क्यालिफोर्नियामा गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री थापाले दाबी गरे ५० वर्ष उमेरमुनिकै हुने र आफूले समर्थन गर्ने  बताए ।

उनले भनेका छन्  ‘कांग्रेसबाट बिपी र शेरबहादुर देउवा पनि ५० भन्दा कम उमेरमै प्रधानमन्त्री बन्नुभयो। विश्वप्रकाश शर्मालाई पनि ५० वर्ष नपुग्दै प्रधानमन्त्री हुने इच्छा थियो होला, तर भएन,’ ‘गगन थापा ५० वर्षमुनिकै हो। प्रधानमन्त्रीमा मेरोभन्दा गगनकै दाबा बलियो छ।’

बिपी कोइराला र शेरबहादुर देउवा पनि ५० वर्षको उमेरकै हाराहारीमा प्रधानमन्त्री भएको बताउँदै शर्माले प्रधानमन्त्रीमा अब थापाले दाबी गर्ने भए आफूले समर्थन गर्ने उनले दोहोर्याए । शर्मा अहिले अमेरिका छन् । शर्मा अमेरिका पुगेको एक साता भइसकेको छ ।

प्रधानमन्त्रीमा दाबी गर्नका लागि सांसद जितेर संसदीय दलको नेता चुनिनुपर्छ। मंसिरमा हुने संघीय निर्वाचनपछि कांग्रेसले गर्ने संसदीय दलको चुनावमा थापा पनि दलको नेताका लागि उठ्ने तयारीमा छन्।


प्रतिक्रिया दिनुहोस्