पूर्वमन्त्री चढेको गाडी सिन्धुलीमा दुर्घटना, ३ जनाको अवस्था गम्भीर

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ६ : ३८


नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता सवार गाडी दुर्घटनामा परेको छ। पूर्वपर्यटनमन्त्री कृपाश्वर शेर्पा सवार गाडी दुर्घटनामा परेको हो।दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। जसमध्ये ३ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनामा पूर्वपर्यटन मन्त्री शेर्पा सामान्य रहेका छन। उनीसँगै सवार एमाले पोलिटब्यूरो सदस्य गोकुल घर्ती, आदिवासी जनजाति महासङ्घका महासचिव पेम्बा गुरुङ र आदिवासी जनजाति उपमहासचिव देवराज राई घाइते भउका छन।

घाइतेको उद्धार गरी सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। प्राथमिक उपचारपछि घाइते तीनलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिए पनि मौसमका कारण हेलिकप्टर असम्भव भएपछि एम्बुलेन्समार्फत काठमाडौँ लगिने तयारी गरिएको छ। घाइते तीनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।

एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ प्रदेश नं १ को विस्तारित बैठकमा भाग लिन धनकुटा जाने क्रममा मदनभण्डारी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–१४ चन्दनपुरमा उनीहरू सवार गाडी दुर्घटनामा परेको थियो। प्रहरीका अनुसार उनीहरू सवार बा २ च ९००३ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। रासस

 


प्रतिक्रिया दिनुहोस्